Logo

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा



काठमाडौं, साउन १४ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दायर गरेको छ ।

विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ ।

कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आव र अघिल्लो आवको सात मुद्दाको फैसला भएकोमा चार मुद्दाको फैसला हुन् बाँकी रहेको बताइएको छ । कूल ११ वटा मुद्दा दुई आवमा दायर भएको थियो ।

गत आवमा उपभोक्ताबाट कार्यालयमा छ उजुरी प्राप्त भएकोमा पाँच उजुरीको अनुसन्धान सकिएको छ । जसमा दुई उजुरीमाथि मुद्दा दायर दायर गरिसकिएको छ भने दुईमा अनुगमन गरी सुधारात्मक निर्देशन दिइएको छ ।

एउटा उजुरीउपर नमूना सङ्कलन गरी प्रयोगशाला विश्लेषण गर्दा कैफियत नपाइएको तथा एउटा उजुरी अनुसन्धानको क्रममा रहेको जनाइएको छ ।

प्रतिवेदनमा उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न विद्यमान खाद्य ऐन र नियमको प्रभावकारी कार्यान्वयन गर्दै सरोकारवालाको सहयोग र समन्वयमा कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ ।

गत आवमा कार्यालयले ६० बजार, दुई सय १० उद्योग तथा ४१ होटल तथा रेष्टुराँ र चमेना गृहको अनुगमन गरिएको प्रतिवेदनमा जनाइएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्