Logo

खगराज अधिकारीको प्रश्नः “जनार्दन शर्मालाई प्रचण्डले ‘क्लिन चिट्’ दिएर हुन्छ ?”



काठमाडौं, १४ साउन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष समितिले ‘क्लिन चिट्’ नदिएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, “ऋषिजीसँग जनता जान्न चाहन्छन् कार्यक्रममा अर्थमन्त्रीले बोलुन्जेल सीसीटीभी फुटेज थियो । पछि उद्देश्यमूलक ढंगले नष्ट गर्नुभयो । संसदीय समिति बनेपछि कल डिटेल र पोलिग्राफिक टेस्ट लिनुपर्छ भन्दा सत्तापक्षकै माननीयहरुले मानेनन् । जनार्दन शर्मालाई प्रचण्डले क्लिन चिट् दिएर हुन्छ ? जनार्दन शर्मा निर्दोष देखिनुभएन । उहाँले अनियमितता गरेकै हो, राजस्व दरमा अनधिकृत व्यक्तिले तलमाथि गरेकै हो । अर्थमन्त्रीको नियत नै राम्रो थिएन । तर सत्तापक्ष उहाँलाई जसरी पनि उन्मुक्ति दिने भन्नेमा केन्द्रित भयो ।”
संसदीय समितिका सदस्य समेत रहेका अधिकारीले शर्मामाथिको छानबिन अपुरो भएको भएको पनि बताए । उनले भने, समितिले अर्थमन्त्रीको संलग्नता भएको हेर्न पाइएन भनेको छ । यसलाई निर्णय मानिँदैन । बहुमतले ५२ पेज दिएको छ, २९ पेज हाम्रो छ । सबैले आआफ्नो कुरा राखियो । कुरा त्यत्ति हो । छानबिन प्रशोधित भएन, परिपक्व भएन । सबै अंग पूरा गरिएन । छानबिन अपुरो भयो । गहिरो अनुसन्धान नै भएन ।”
प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक संरक्षकत्वमा सीसीटीभी फुटेज नष्ट गरेको आरोप पनि उनले लगाए । एमाले नेता अधिकारीले भने, “सीसीटीभी फुटेजको स्थलगत अध्ययन, कल डिटेल र मोबाइल लोकेसन हेर्न किन नदिएको ? सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्छ भन्ने नियम पालना भएन । बजेट निर्माणमा हुनुपर्ने आठ जनामध्येका भन्सार प्रमुख नै देखिएनन् । उनलाई बजेट वक्तव्य लेख्न लगाएर अर्को व्यक्ति ल्याएको कुरा आयो । जनार्दन शर्माले राति ११ बजे हिँडे भन्नुभएको छ, फुटेज हेर्दा १२ बजेसम्म उहाँको गाडी छ । बिहान चार बजे देखिएन । ड्युटी फेरिएको सुरक्षाकर्मीको बयान लिन अवरोध गरियो । यसले अनधिकृत व्यक्ति प्रवेश नगरेको कुरा खण्डित गर्छ । अर्थतन्त्रमा गम्भीर आघात पर्‍यो । प्रधानमन्त्रीको राजनीतिक संरक्षकत्वमा यसलाई विषयान्तर गर्न र यथार्थ लुकाउन खोजियो । कागजपत्र लिन प्रधानमन्त्रीको तोक लगाउनुपर्ने ?”
आगामी निर्वाचनमा यसलाई मसला बनाउनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा नेता अधिकारीले भने, “हामीसँग मुद्दा त कति छन् कति ? आफ्ना बाउआमाका नाममा बजेट राखिएको छ । देशमाथिको लुट खसोट हामी टुलुटुलु हेर्न सक्दैनौं । यो त इस्यु भयो भयो ।”
अर्को प्रसंगमा उनले एसपीपीका सन्दर्भमा सरकारले अमेरिकालाई पठाएको पत्र संसदमा पढेर सुनाउनुपर्ने औंल्याए । अधिकारीले भने, “परराष्ट्र मन्त्रालयले पत्र पठाएको छैन भनेको छ, परराष्ट्र मन्त्रीले पठाएको भन्नुभएको छ । पठाएको भए संसदमा पढेर सुनाए भएन र ? हामी अमेरिकासँग मित्रतापूर्ण सम्बन्धको पक्षमा छौं । म पनि परराष्ट्र मन्त्रालय सम्हालिसकेको व्यक्ति हुँ । संसदमा प्रश्न उठेपछि पत्र ल्याएर दिन सकिन्छ ।”



प्रतिक्रिया दिनुहोस्