Logo

१२ वर्षमा २ सय ३४ बाघ बढे, पुग्यो ३ सय ५५ संख्या



ललितपुर, साउन १४ । नेपालमा बाघ संख्या उल्लेख्य मात्रामा वृद्धि हुँदै ३ सय ५५ पुगेको छ । ‘विश्व बाघ दिवस’का अवसरमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो बाघ संख्या सार्वजनिक गरेका हुन् ।

सन् २०१८ को पछिल्लो गणनामा २ सय ३५ बाघ रहेको नेपालमा चार वर्षपछिको गणना क्रममा १ सय २० बाघ वृद्धि हुँदै ३ सय ५५ पुगेको हो ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ मुलुकबीचको सम्मेलनले २०२२ सम्म दोब्बर पार्ने लक्ष्य लिएको थियो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र वन तथा भूसंरक्षणमन्त्री दीपक बोहोरासहितको टोलीले अन्तर्राष्ट्रिय समुदायमाझ सन् २०२२ सम्म बाघ संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । त्यतिबेला १ सय २१ बाघ थिए । यसपछि सन् २०१३ को गणनामा नेपालमा १ सय ९८ बाघ पाइएका थिए ।

नेपालले २ सय ५० बाघ पु¥याउने लक्ष्य लिए पनि त्योभन्दा १ सय ५ बाघ थप भएको छ । यो लक्ष्य पूरा गर्ने नेपाल पहिलो राष्ट्र बनेको छ । सन् २०२१ डिसेम्बरदेखि २०२२ फेब्रुअरीसम्म राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वन तथा क्षेत्रमा गरिएको राष्ट्रिय बाघ सर्वेक्षण क्रममा ३ सय ५५ बाघ भेटिएका हुन् ।

२४ जिल्लाका १९ हजार वर्गकिलोमिटर क्षेत्रमा १ हजार ८ सय ४३ क्यामेरा ‘ग्रिड’ राखेर गणना गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट डा गणेश पन्तले जानकारी दिए ।

सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३ बाघबाट बढेर १ सय २५ पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ बाट बढेर १ सय २५ पुग्दा पर्सा निकुञ्जमा १८ बाट बढेर ४१ बाघ संख्या पुगेको छ । शुक्लाफाँटा निकुञ्जमा १६ बाट २० बाघमा वृद्धि हुँदै ३६ पुगेको छ ।

त्यस्तै, तुलनात्मक रूपमा सबैभन्दा कम बाघ वृद्धि भएको बाँके निकुञ्जमा २१ बाट बढेर २५ बाघ पुगेको छ । यसअघि, सन् २०१८ मा नेपालमा २ सय ३५ बाघ थिए । बाघ पाइने पाँचै राष्ट्रिय निकुञ्जमा संख्या बढेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्