Logo

संसदीय समितिले करका दर अदलीबदलीमा अनधिकृत पात्रको प्रवेश ‘छैन’ र ‘होइन’ भनेको छैन, ‘देखिएन’ भनेको होः देव गुरुङ



काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले नेकपा एमालेमाथि अर्थमन्त्री प्रकरणलाई प्रतिपक्षी मानसिकतामा राजनीतिक मुद्दाका रुपमा उछालिरहेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “जेठ १४ र १४ गतेका सीसीटीभी फुटेजका ५१ वटा क्लिप्समात्र हेर्न पायौं । सीसीटीभी फुटेज प्राविधिक रुपमाले जति बचत भएको छ, त्यसलाई हेरिएको छ । बचत नगरिएको कुरा हेर्न सकिएन । त्यसमा करका दर अदलीबदलीमा अनधिकृत पात्रको प्रवेश देखिएन । तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न सकिएन । देखेको कुरा भन्न किन तयार नहुने ? हामीले ‘छैन’ र ‘होइन’ भनेका छैनौं, ‘देखिएन’ भनेका छौं । ‘छैन’ र ‘देखिएन’ भन्नुको बीचमा फरक छ । ‘छ’ वा ‘छैन’ भनेको ग्यारेन्टी हो, हामीले ‘देखियो’ वा ‘देखिएन’ भन्ने हो । विशुद्ध प्रतिपक्षी मान्यतामा आग्रह र पूर्वाग्रह राखेर यसलाई राजनीतिक मुद्दाका रुपमा हेर्न खोजिएको छ ।”
पोलिग्राम टेस्ट र कल डिटेल माग्ने कुरा समितिको क्षेत्राधिकारमा नपर्ने पनि उनले औंल्याए । गुरुङले भने, “संसदीय छानबिन समिति न्यायिक वा जाँचबुझ छानबिन समिति होइन । पोलिग्राम टेस्ट र कल डिटेल माग्ने कुरा नियमसम्मत होइन । यो मानवअधिकार र गोपनीयताको हक विपरीत कुरा हो ।  संविधानको धारा १८ ले गोपनीयताको हकको व्यवस्था गरेको छ । अदालतको आदेशबिना कल डिटेल हेर्ने अधिकार छैन ।” आफूहरुले जनार्दन शर्मालाई सुनपानी छर्केको वा सफाइ नदिएको पनि उनले बताए ।
अब फेरि जनार्दन शर्मा नै अर्थमन्त्री हुने हो भन्ने प्रश्नमा गुरुङले भने, “अर्थमन्त्री कसलाई बनाउने भन्ने प्रधानमन्त्रीको कुरा हो । दलका नेताहरुसँग कुराकानी गरेर बनाउनु होला ।” उनले संसदमा उभिएर परराष्ट्र मन्त्री र अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जानकारी गराइसकेको अवस्थामा एसपीपीबारे सरकारमाथि अविश्वास गर्न नहुने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्