Logo

संसदमा गएपछि दिमागै बिग्रिन्छ माननीयहरूकोः प्रदेश मन्त्री



काठमाडौं, १४ साउन । प्रदेश १ का उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङग्रामले प्रदेशको राजधानी विराटनगर तोकिएकामा असहमति जनाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री हाङग्रामले भने, “प्रदेशको नाममा अलिकति विवाद छ । वामपन्थीहरुको दुई तिहाइ हुँदा पनि राख्न सकेनन् । हामी जम्मा २१ जना मात्र छौं । पाँचवटा पार्टी मिलेर बल्ल बल्ल सरकार बनाएको हौं । मेरो त विराटनगर राजधानी तोकिएकोमै सहमति छैन । भारतीय सिमानाको तीन किलोमिटरमा किन राखेको ? धनकुटा, धरान, इटहरीभन्दा पर जानुहुँदैन राख्ने भन्दा ९२ जना सांसदले विराटनगरमै सहमति जनाए । संसदमा गएपछि दिमागै बिग्रिन्छ माननीयहरुको !”
मन्त्री हाङग्रामले प्रदेशको नाम राखेर मात्र प्रदेश नचल्ने पनि बताए । उनले भने, “नामले के गर्छ ? नामले केही पनि गर्दैन । ऋषि धमलालाई जंगबहादुर राणा भने पनि हुन्छ । नामभन्दा काम गर्ने हो । प्रदेश नामकरण वार्ता समितिमा म छैन । जातीय राख्ने कि के राख्ने, मलाई कसैले सोधेको पनि छैन । टेबलमा ल्याएको दिन म आफ्नो कुरा भन्छु । म जतासुकै बोलेर हिँड्दिनँ ।”
उनले आफू प्रदेशको नाम राख्ने भन्दा रक्सीलाई ब्रान्डिङ बनाउन लागिगरेको पनि सुनाए । हाङग्रामले थपे, “अहिले रक्सी आयातका लागि अर्बौं पैसा विदेश पठाइएको छ । मेरो ध्यान विदेशको पैसा यता खिच्नेतिर छ । स्वदेशी रक्सीलाई ब्रान्डिङ गरेर विदेशी मुद्रा कमाउनले भयो । हामी हरेक गाउँपालिका, जिल्ला जिल्लामा रक्सीको कारखाना राख्छौं ।”
अर्को प्रसंगमा हाङग्रामले नेपाली कांग्रेसले आगामी निर्वाचनमा दुई तिहाइको सरकार बनाउने दाबी पनि गरे । उनले थपे, “एमालेको दुई तिहाइको सरकार ढल्यो । पार्टी फुटेर भताभुंग भएको छ । आगामी निर्वाचनपछि नेपाली कांग्रेसको दुई तिहाइको सरकार बन्छ ।”



प्रतिक्रिया दिनुहोस्