Logo

के हृदयन्द्र शाह राजा बन्लान्



काठमाडौं, १४ साउन । हृदयन्द्र शाह नेपालका अन्तिम नवयुवराज । राजसंस्था हुँदा उनी बालकै थिए र नवयुवराज भनिन्थे । हृदयन्द्रलाई आफू नवयुवराज भएको याद पनि नहुनसक्छ । ६ वर्षका बालक हृदयन्द्र राजसंस्थाको अन्तसँगै नारायणहिटीबाट आफ्ना हजुरबा तत्कालीन राजा ज्ञानेन्द्र शाह र मातापितासँगै बाहिरिनुपरेको थियो ।

हृदयन्द्र २० वर्ष पुगे । उनी अमेरिकामा अध्ययनरत छन् । बिदाको समय पारेर आएका छन् । यसपटकको जन्मदिन नेपालमै मनाउन आए ।
हृदयन्द्र बालक हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई एउटा प्रस्ताव पठाएः ‘बेबि किङ’ । ज्ञानेन्द्रलाई गद्दी छाडेर नातिलाई गद्दीमा राख्न उनले विभिन्न माध्यमले खबर पठाएका थिए ।

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले सार्वजनिक रुपमै ‘बेबि किङ’ को सम्भावना औल्याएकी थिइन् । गणतन्त्रको माग गरिरहेकाहरुलाई त्यो अभिव्यक्तिले चिढ्यायो । सुजाता आलोचित भइन् । तैपनि, पिता गिरिजाप्रसाद कोइरालाले राजसंस्थाका लागि ठाउँ राख्ने चाहनाबारे खुलाइन् ।

कोइरालाले ‘बेबि किङ’ भन्नुमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर अलोप्रीय हुनु, कोइराला स्वयंलाई ज्ञानेन्द्रप्रति असन्तुष्टि हुनु पनि थियो । अर्कोतर्फ, तत्कालीन युवराज पारस शाह निकै अलोकप्रीय थिए । यसकारण कोइरालाले दरबारनिकटस्थहरुमार्फत् महत्वपूर्ण प्रस्ताव पठाए । तर, ज्ञानेन्द्र शाहले त्यसलाई ठाडै अस्वीकार गरेको बताइन्छ ।

राजसंस्था अन्त भएको १५ वर्ष पुगेको छ । अझै पनि देशमा राजसंस्था फर्कने सम्भावनाबारे विश्लेषण हुने गरेको छ । राजसंस्था अन्तपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार मात्र छाडेको तर देश नछाडेको तर्क एकाथरीको छ । विश्वमा राजसंस्था अन्त हुँदा राजाले देश छाडेको या मारिएको इतिहास छ । त्यो नेपालमा भएन ।

राजसंस्था पुनःस्थापनाको माग गर्ने मूलधारका राजनीतिक शक्तिहरु पनि छन् । यतिसम्मकी प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेभित्र पनि राजसंस्था फर्काउने पक्षधरहरु उल्लेख्य संख्यामा छन् । उनीहरुमध्ये केहीले मात्र मुख फोरेका छन् ।

राजसंस्था फर्किन सजिलो छैन । तर, राजनीतिमा असम्भव भन्ने हुँदैन । ज्ञानेन्द्र शाह वृद्धावस्थामा पुगिसकेकाले उनको पालामा त्यो सम्भावना देखिदैन । पारस शाह अलोकप्रीय छन् । राजसंस्था फर्किएमा राजा बन्ने भनेको हृदन्द्र शाह नै हो । विगतमा गिरिजाप्रसाद कोइरालाले भनेका बेबि किङ उनै हृदयन्द्र शाह नै थिए । समयले हृदयन्द्रलाई राजगद्दीमा पुर्याउला ? यो भविष्यको गर्भमा लुकेको छ । आँकलन गर्न कठिन छ ।



प्रतिक्रिया दिनुहोस्