Logo

साना व्यवसायीलाई लखेटेर त्यही बाटोमा खुलेआम पार्किङ



काठमाडौं, साउन १५ । फुटपाथमा सानो व्यवसाय राखेर जीवन गुजारा चलाइरहेका साना व्यवसायीलाई फुटपाथबाट लखेटेको काठमाडौं महानगरले त्यही बाटोमा खुलेआम पार्किङ गर्न दिएर कमाउन दिइरहेको छ ।

राजधानीका सडक साँघुरो भएपछि बढाइएको महानगर क्षेत्रका अधिकांश ठूला सडक पार्किङ स्थलमा परिणत भएका छन् ।

मेयर बालेन्द्र साहले नयाँ बानेश्वर क्षेत्रमा पुगेर फुटपाथमा पसल राख्न प्रतिबन्ध लगाए पनि सँगै रहेको बाटोमा पार्किङ धन्दा रोक्न सकेका छैनन् । महानगरले स्मार्ट पार्किङको नाममा ठेक्कामा दिएर लाखौं रुपैयाँ कमाइरहेको छ ।

स्मार्ट पार्किङ शुल्कको नाममा प्रतिघण्टाको हिसाबले ठूलो रकम संकलन गरिरहेको छ । कामपा प्रहरी प्रमुख धनपति सापकोटाले न्युरोडका आधा दर्जन र दरबारमार्ग क्षेत्रमा स्मार्ट पार्किङ सञ्चालन भइरहेको बताए ।

कामपाले सार्वजनिक–निजी–साझेदारी कार्यक्रमअन्तर्गत न्युरोड क्षेत्रको धर्मपथ, शुक्रपथ, पाको, खिचापोखरी, प्युखा र दरबारमार्ग क्षेत्रमा सशुल्क पार्किङ सञ्चालन गरेको छ । स्मार्ट पार्किङको नाममा ठेकेदार कम्पनीले दैनिक लाखौं रुपैयाँ आम्दानी गरेको छ । महानगरले सर्वसाधारणको सबैभन्दा भीड लाग्ने क्षेत्र न्युरोड र दरबारमार्गमा पार्किङ ठेक्का दिएको हो ।

हाल पुतलीसडक, वागबजार, बानेश्वर, कोटेश्वर, न्युरोड, असन, बालाजु, महाराजगन्जलगायत दर्जनौं स्थानमा बाटोमै पार्किङ भइरहेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्