Logo

माओवादी केन्द्रलाई दोस्रो पार्टी बनाउने गरी मात्र तालमेल गर्नुपर्छ भन्ने प्रचण्डको अभिव्यक्ति बेठीक होः राजेन्द्र श्रेष्ठ



काठमाडौं, १५ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवं जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेकपा (माओवादी केन्द्र) लाई दोस्रो पार्टी बनाउने गरी मात्र तालमेल गर्नुपर्छ भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति लोकतान्त्रिक विधि र प्रक्रिया अनुरुप नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री श्रेष्ठले भने, “प्रचण्डको त्यो कुरा बेठीक हो । त्यो कुरा लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार भएन । पहिलो वा दोस्रो पार्टी कसलाई बनाउने भन्ने निर्णय जनताले गर्ने हो ।  उहाँले त पहिलो हुन्छौं पो भन्नु सक्नुपर्‍यो त ।”
उनले नेपाली कांग्रेससँग इमानदारीपूर्वक तालमेल गर्नुपर्छ भन्नेमा विवाद नभए पनि त्यसरी जाँदा पार्टीको जनाधार, उम्मेदवारको प्रभाव र व्यक्तित्व हेर्नुपर्ने औंल्याए । मन्त्री श्रेष्ठले भने, “गठबन्धन देशको समानुपातिक निर्वाचन प्रणालीले माग गरेको कुरा हो । तालमेल हुँदा तालमेल गर्ने हो, नहुँदा एक्लै जने हो । अहिलेसम्मको स्थितिमा हामीले मधेस प्रदेशमा एक्लै लड्ने तयारी गरेका छौं । तर, पाँच पार्टीबीच गठबन्धन गर्न सहकार्यको ढोका पनि खुला छ ।” साथै उनले स्थानीय निर्वाचनमा जसपाको मतप्रतिशत र मेयर र उपमेयरको संख्या बढेको पनि दाबी गरे ।

“राष्ट्रपति संसदभन्दा माथि होइन”
मन्त्री श्रेष्ठले दुवै सदनबाट पारित भएको कुरामा राष्ट्रपतिले लालमोहर लगाउनुपर्ने पनि बताए । उनले थपे, “दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपतिको कर्तव्य हो । देशको राष्ट्रपति संसदभन्दा माथि होइन । विधेयकबारे उहाँले विज्ञसँग छलफल गर्न सक्नुहुन्छ । तर दुवै सदनले पारित गरेर पठाएको कुरा लालमोहर लगाउनुपर्छ । धारा ११ को उपधारा ३ भन्दा फरक कुरा पास भएको होइन ।”
भारतीय आमा भएको मानिसलाई नागरिकता दिनुहुन्न भन्ने कतिपय व्यक्तिहरु भारतीय आमाबाट जन्मेको भए पनि पूर्व राजाको परिवारलाई राजा भएको हेर्न चाहेको दुई जिब्रे कुरा गरिरहेको आरोप पनि उनले लगाए ।

“एमाले त पशु पनि बन्न सक्ने, पन्छी पनि बन्न सक्ने चमेरोजस्तो भयो”
मन्त्री श्रेष्ठले नागरिकता विधेयकमा नेकपा एमालेले दोहोरो मापदण्ड अपनाएकोमा पनि आलोचना गरे । उनले थपे, नेकपा एमालेमा दोहोरो मापदण्ड छ । देशको समस्या समाधान गर्नेभन्दा आफ्नो स्वार्थमा बोल्ने प्रवृत्ति छ । प्रतिनिधिसभामा समर्थन गर्ने, राष्ट्रिय सभामा विरोध गर्ने, यस्तो पनि हुन्छ र ? सत्तामा हुँदा नागरिकता अध्यादेश ल्याउँदा ठीक हुने, अहिले हुबहु कुरा आउँदा विरोध गर्ने । एमाले त पशु पनि बन्न सक्ने, पन्छी पनि बन्न सक्ने चमेरोजस्तो भयो । पशुसँग चार खुट्टा टेक्न सक्छु भन्ने, चरासँग उड्न पनि सक्छु भन्ने । एमालेमा राजनीतिक नैतिकता भएन ।

“मैले बाबुरामजीलाई धोका दिएको छैन”
बाबुराम भट्टराई समूहले आफ्ना बारेमा दुष्प्रचार गरेको आरोप पनि उनले बताए । श्रेष्ठले भने, “हामीकहाँ मिसन पत्रकारिता, मिसन राजनीति फस्टायो । उपेन्द्र यादव र अशोक राईलाई फुटाउन मलाई प्रयोग गर्ने खेल भयो । त्यसलाई असफल बनाउन मैले भूमिका खेलेकै हो । पार्टीमा रहँदा बाबुरामजीमा प्राज्ञिक र बौद्धिक व्यक्तित्व त देखियो तर पार्टीभित्रको द्वन्द्व चर्काउने नकारात्मक प्रवृत्ति पनि देखियो । त्यसले चुनावमा पार्टीलाई घाटा भयो । उहाँको प्रवृत्ति आफ्नो टाउको फुटेपछि मितको टाउको बेलै सरी भने जस्तो भयो । मैले विचार मिल्दा साथ दिने हो, नमिल्दा साथ नदिने हो । स्याल हुइँया गरी हुँदै नभएको गर्न मिल्दैन । मैले बाबुरामजीलाई धोका दिएको छैन ।”

 



प्रतिक्रिया दिनुहोस्