Logo

परीक्षाफल ढिलो हुँदा अन्योलमा विद्यार्थी



विराटनगर, साउन १५ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको साउन महिनामा सञ्चालन गरेको परीक्षाको परिणाम अझै प्रकाशित नगर्दा विद्यार्थी अन्योलमा परेका छन्।

परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको वार्षिक परीक्षा प्रणालीअन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी, शिक्षाशास्त्र, विज्ञान र प्रविधि, व्यवस्थापन सङ्कायको परीक्षाफल प्रकाशनमा ढिलाइ गर्दा हजारौँ विद्यार्थीमा निराशा बढेको छ। नियमित प्रक्रियाअन्तर्गत ढिलोमा चार महिनाभित्रमा प्रकाशित हुनपर्ने परीक्षाफल वर्ष दिन बित्दासमेत प्रकाशित नगरिँदा उज्ज्वल भविश्यको कल्पना गरिरहेका विद्यार्थीमा तनाव बढाएको हो।

शैक्षिक सत्र २०७६/०७७ सालको स्नातक तहअन्तर्गत प्रथम वर्षको परीक्षामा सहभागी भएका विद्यार्थीले अहिले भर्खरै मात्र दोस्रो वर्षको परीक्षामा सहभागिता जनाइरहेका छन् तर पहिलो वर्षको परीक्षाफल प्रकाशित नहुँदा अबको तयारी के गर्ने भन्ने दुविधा बढेको छ। तेस्रो वर्षको कक्षामा सहभागी हुँदै गर्दा पहिलो वर्षको परीक्षामा उत्तीर्ण वा अनुत्तीर्ण भएको यकिन नहुँदा अध्ययन भार बढेको स्नातक तहका विद्यार्थी जशवन्त पौडेलले बताए।

“पहिलो वर्षको विद्यार्थी तेस्रो वर्षको पाठ्यक्रम अध्ययन गर्न थालिसके,” उनले भने “पहिलो वर्षको परीक्षाफल कस्तो आउने हो भन्ने जानकारी छैन। परीक्षामा उत्तीर्ण नै भइएको छ भने त ठीकै होला तर अनुत्तीर्ण भएको रहेछ भने त कसरी तीन तहको परीक्षाको तयारी गर्नु ?”

उता क्याम्पसहरूले भने कोरोनाका कारण शैक्षिक क्यालेन्डरमा असर परेको भन्दै चार सेसन अध्यापन गराउनुपर्नेमा पाँच सेसन गराइरहेका छन्। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्