Logo

युक्रेन युद्धः रुसी सेनाको क्रूरताबाट जोगिन डोनेट्स्क क्षेत्र छाड्न राष्ट्रपति जेलेन्स्कीको आदेश



काठमाडौं, साउन १५ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको नियन्त्रणमा रहेका पूर्वी डोनेट्स्क क्षेत्रमा बसिरहेका सबै सर्वसाधारणलाई रुसी क्रूरताबाट जोगिनका लागि उक्त स्थान खाली गर्न आदेश दिएका छन्।

शनिवार राति अबेर सम्बोधन गर्दै जेलेन्स्कीले उक्त क्षेत्रमा युद्ध अझै चर्किन सक्ने चेतावनी दिए। ‘जति धेरै मानिसहरूले अहिले डोनेट्स्क क्षेत्र छाड्नेछन्, रुसी सेनासँग उति नै कम समय हत्या गर्नका लागि हुनेछ,’ उनले भने।

उक्त क्षेत्रमा भीषण लडाइँहरू भएका छन्। उक्त क्षेत्रको अधिकांश भाग अहिले रुसको नियन्त्रणमा छ। उनका अनुसार अझै हजारौँ सर्वसाधारणहरू उक्त क्षेत्रमा फसेका छन् र अधिकारीहरूले उनीहरूलाई सहयोग जारी राखेका छन्।

बीबीसीका अनुसार शुक्रवार रुसी आक्रमणमा परेर छ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए।डोनेट्स्कमा रुससमर्थित पृथक्तावादीको नियन्त्रणमा रहेको अर्को क्षेत्रमा रहेका ५० युक्रेनी युद्धबन्दीहरूको मृत्युका विषयमा अनुसन्धान गर्न रुसले राष्ट्रसङ्घ र रेडक्रसका अधिकारीहरूलाई निम्तो दिएपछि जेलेन्स्की बोलेका हुन्।

जेलमा भएको आक्रमणका क्रममा अस्पष्ट खालको परिस्थितिमा ती सैनिकहरू मारिएका थिए र दुवै पक्षले एकअर्कालाई आरोप लगाइरहेका छन्। आजोभस्टालस्थित स्टील उद्योगको सुरक्षामा खटिएका सैनकहरूका आफन्तले रुसविरुद्ध शनिवार किएभमा प्रदर्शन गरेका थिए

आजोभस्टालस्थित स्टील उद्योगको सुरक्षामा खटिएका सैनकहरूका आफन्तले रुसविरुद्ध शनिवार किएभमा प्रदर्शन गरेका थिए । शनिवार साँझ बोल्दै रुसी रक्षा मन्त्रालयका अधिकारीहरूले मस्कोले उक्त घटनाको ूवस्तुगत अनुसन्धानू लाई स्वागत गर्ने बताए।

युक्रेनस्थित रेडक्रसका उपप्रमुखले युद्धबन्दीहरूसम्म पहुँच दिनु जिनिभा महासन्धि अनुसारको बाध्यात्मक दायित्व भएको बताए। ओलेनिभ्का बन्दी शिविरको नियन्त्रण रुसको समर्थन पाएको स्वघोषित डोनेट्स्क जनवादी गणतन्त्रले गर्ने गरेको छ।

त्यहाँ शुक्रवार के भएको थियो भन्ने स्पष्ट छैन। तर घटनापछिको अप्रमाणित रुसी भिडिओ फुटेजमा ध्वस्त भएका बिछ्यौनाहरूको थुप्रो र नराम्रोसँग जलेका शवहरू देख्न सकिन्छ। युक्रेनले अमेरिकामा निर्मित हिमार्स अस्त्र प्रणालीको प्रयोग गरी आक्रमण गरेको रुसको दाबी छ।



प्रतिक्रिया दिनुहोस्