Logo

प्रधानमन्त्री ताक्नेलाई चुनाव हराइएको इतिहास



काठमाडौं, १५ साउन । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले २०४८ सालमा कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउँदा देशले ठूलो नोक्शानी भोगिरहेको तर्क गरे । काठमाडौंबाट चुनाव लडेका तत्कालीन प्रधानमन्त्री भट्टराई मदन भण्डारीसँग पराजित भएका थिए ।

भट्टराईको पराजयलाई काँग्रेसभित्रको घात अन्तर्घातसँग जोडेर हेरियो । उनलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा पनि लिइएको थियो । मदन भण्डारीको निधनपछि भएको उपचुनावमा पनि भट्टराई विद्यादेवी भण्डारीबाट पराजित भएका थिए । उपचुनाव जितेर आएको भए भट्टराई नै प्रधानमन्त्रीका दाबेदार हुन्थे ।

२०५१ सालको चुनावमा काँग्रेसभित्र प्रधानमन्त्रीका दाबेदारका रुपमा देखिएका कतिपय हस्तीहरु पाखा लगाइए । एमाले सबैभन्दा ठूलो दल बन्दा मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए ।

२०५६ को चुनावमा कृष्णप्रसाद भट्टराईलाई पर्साबाट चुनाव लडाइयो । उनलाई त्यतिबेला चुनावपछिको प्रधानमन्त्री भनियो र उनले जिते पनि । तर, प्रधानमन्त्री भएको केही महिनापछि नै उनलाई हट्न वाध्य बनाइयो । त्यसपछि ९ वर्ष देशमा चुनाव भएन ।

२०६५ सालमा संविधानसभाको चुनाव हुँदा प्रधानमन्त्रीको दौडमा धेरै हस्तीहरु थिए । गिरिजाप्रसाद कोइराला समानुपातिकतर्फ बसे । उनकै छोरी सुजाता कोइराला पराजित भइन् । सुजातालाई धेरैले प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरेका थिए । कृष्णप्रसाद सिटौलालाई पनि प्रधानमन्त्रीको दाबेदारका रुपमा लिइएको थियो । उनी पनि पराजित भएका थिए । रामचन्द्र पौडेल, खुमबहादुर खड्का, पूर्णबहादुर खड्कालगायत काँग्रेसका हस्तीहरु चुनावमा पराजित भएका थिए । एमालेबाट प्रधानमन्त्रीका दाबेदार मानिएका माधवकुमार नेपाल र केपी शर्मा ओली पनि त्यतिबेला चुनावमा पराजित भएका थिए ।

२०७० सालको संविधानसभाको चुनावमा पनि प्रचण्डलाई प्रधानमन्त्रीमा रुपमा प्रस्तुत गरियो । उनी काठमाडौंबाट पराजित भए । सिराहाबाट मुश्किलले जिते ।

२०७४ को चुनाव अगाडि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको थियो । वामदेव गौतम हौसिए । उनले तालमेल गराउन आफूले मुख्य भूमिका खेलेको भन्दै चुनावपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरेका थिए । त्यसपछि उनको दिन बिग्रियो । गौतमलाई चुनाव हराइयो । उनी स्वयंले ओलीनिकटहरुले हराएको आरोप लगाए ।

यसपाली चुनावको मिति घोषणा नहुँदै प्रधानमन्त्रीका दाबेदार धेरैजना निस्किएका छन् । प्रचण्डले चुनावपछि आफू नै प्रधानमन्त्री बन्ने दाबी गर्न थालिसकेका छन् । काँग्रेसभित्र गगन थापाको प्रधानमन्त्री बन्ने चर्चा चलाइएको छ । तर, प्रधानमन्त्रीको दाबेदार देखिनु भनेको चुनावमा चुनौती बढाउनु सरह हुने देखिन्छ । इतिहास साक्षी छ कि प्रधानमन्त्री बन्छु भन्नेहरुलाई चुनाव हराइएको थियो ।-File Photo: Reportersnepal



प्रतिक्रिया दिनुहोस्