Logo

नेपाल प्रेस युनियनले विनियमावली संशोधन गर्ने



काठमाडौं, १५ साउन । नेपाल प्रेस युनियनले आफ्नो विनियमावली संशोधन गर्ने भएको छ । युनियनको पहिलो बैठकले विनियमावली संशोधनका लागि छुट्टै समिति बनाएको छ । उपाध्यक्ष भिष्म ओझाको संयोजकत्वमा गठन गरिएको समितिमा उपाध्यक्ष जीवन भण्डारी, उपमहासचिवद्धय युवराज गौतम, सुलोचना गौतम र केन्द्रीय सदस्य मित्र भण्डारी रहेका छन् ।

समितिमा दुई अधिवक्ता पछि मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ । युनियनको महाधिवेशनले विधानमा धेरै हेरफेर गरेकाले त्यसलाई थप व्याख्या गर्न विनियमावली संशोधन गर्नु परेको युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए ।

यही साउन ६ र ७ गते हेटौडामा सम्पन्न भएको युनियनको नवौँ महाधिवेशनले शिव लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको थियो । समितिको शनिबार बसेको पहिलो बैठकले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयकहरु फिर्ता लिन माग गरेको छ ।

पत्रकारको ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने, विभिन्न बहानामा सञ्चार माध्यमबाट निष्कासनमा परेका पत्रकारको पुनःबहाली गर्न सम्बन्धित सञ्चारगृहको ध्यानाकर्षण गर्नेलगायतका निर्णय गरेको पनि महासचिव पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्