Logo

कर्मचारी सरुवामा बेथितिः चार दिनमै दुईपटक सरुवा



काठमाडौं, साउन १६। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ साउन ८ गते जिल्ला समन्वय समिति (जिसस) सप्तरीका कर्मचारी ललनकुमार यादवलाई सप्तरीकै छिन्नमस्ता गाउँपालिकामा सरुवा गर्‍यो।

साउन ११ गते बिहान उनले उक्त गाउँपालिकामा हाजिर गरे। तर त्यसै दिन साँझ मन्त्रालयले सरुवाको अर्को चिठी पठायो। उनलाई छिन्नमस्ताबाट पुनः जिसस सप्तरीमै पठाइयो। तर छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले उनलाई सरुवा भएको कार्यालयमा जान रमाना दिएनन्। यादव हाल छिन्नमस्तामै छन्। उनी भन्छन्, ‘मलाई चार दिनमा दुईपटक किन सरुवा गरियो भनेर म आफैं अचम्ममा परेको छु।’

संघीय मामिला मन्त्रालयले चूर्णबहादुर कार्कीलाई म्याग्दीको मंगला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरी पठायो। तर उक्त गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोका मन्त्रालयले पठाएका कर्मचारीलाई हाजिरी गराउन तयार भएनन्।

कार्कीलाई हाजिरी गराउन नसकिने भन्दै अध्यक्ष रोकाले साउन १३ गते मन्त्रालयलाई चिठी पठाए। खटाइएको ठाउँमा हाजिरी गर्न नपाएपछि कार्की पुनः मन्त्रालयमा फर्किएका छन्। अहिले उक्त गाउँपालिकामा राजेन्द्र आचार्यले निमित्त भई काम गरिरहेका छन्।

साउन लागेयता मन्त्रालयले बिनामापदण्ड प्रमुख प्रशासकीय अधिकृतलगायत विभिन्न तहका कर्मचारी धमाधम सरुवा गरिरहेको छ। मन्त्रालयले मापदण्ड नबनाई सरुवा गर्दा चरम बेथिति देखिएको छ। मन्त्रालयका अनुसार साउन लागेयता अहिलेसम्म डेढ सयभन्दा बढी कर्मचारीको सरुवा भइसकेको छ। तीमध्ये पाँच दर्जनभन्दा बढी प्रमुख प्रशासकीय अधिकृत छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot