Logo

“जनार्दन शर्माको अपराध ढाकछोपमा प्रधानमन्त्री र प्रचण्ड दुवै लागे, यो देशमा अर्थमन्त्री हुन अपराधीबाहेकका मानिस छैनन् ?”



काठमाडौं, १६ साउन । नेकपा एमालेका नेता केशव बडालले अर्थमन्त्री जनार्दन शर्मालाई जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै लागेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “यो देशमा जतिसुकै ठूलो अपराध गरे पनि त्यसलाई जोगाउन सत्ता गठबन्धन नै लाग्छ भन्ने देखियो । राज्य नै अपराधीको साक्षी बनेको छ । अर्थमन्त्री जनार्दन शर्माको अपराध ढाकछोप र सबै खालका दशी प्रमाण मेट्नका लागि प्रधानमन्त्री र प्रचण्ड नै लागे । देशमा अपराधीलाई उन्मुक्ति दिनका लागि सिंगो राज्यसंयन्त्र लाग्न मिल्दैन । यो लोकतन्त्रविरोधी काम हो ।”
जनार्दन शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गर्नु राष्ट्रहित विपरीत भएको पनि बडालले औंल्याए । उनले भने, “सिंगो सत्ता गठबन्धन अपराधकर्ममा लिप्त छ । अपराधको ढाकछोपमा लागेको छ । जसलाई संगीन आरोप लागेको छ, उसैलाई पुनः अर्थमन्त्री बनाइएको छ । अपराधीबाहेक यो देशमा मानिस नै छैनन् ? लाजगालका लागि भए पनि प्रधानमन्त्रीले अर्थमन्त्री फेरेको भए हुन्थ्यो ।”
अर्थमन्त्री प्रकरणमा गठित संसदीय छानबिन समितिका संयोजक लक्ष्मणलाल कर्ण पनि सत्तापक्षको मतियार भएको आरोप उनले लगाए । बडालले थपे, “कर्णको भूमिका पनि सत्तापक्षलाई मद्दत गर्ने देखियो । जनार्दन शर्मालाई जोगाउन गठबन्धनका लाउकेहरु सबै लागे । त्यसैले हामीले नौ पेजको फरक मत दिएका छौं ।”
गठबन्धन सरकारको पर्याय महँगी र भ्रष्टाचार भएकाले एमाले आन्दोलनमा उत्रिएको पनि उनको भनाइ छ । बडालले भने, “आन्दोलन जहिले सुकै जनताले गर्ने हो । पार्टीले नेतृत्व गर्नेमात्र हो । जनताले कसरी लिन्छन् ? त्यस अनुसार आन्दोलन अघि बढ्छ । साउनको महिना छ । झरी बादल छ । त्यसैले लाखौं जनता सडकमा उत्रन्छन् भन्ने होइन । तर हामी यसलाई अघि बढाउँछौं ।”



प्रतिक्रिया दिनुहोस्