Logo

नाम मात्र राख्ने हो भने प्रदेश १ छँदै छ निः मन्त्री यादव



काठमाडौं, १६ साउन । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण प्रदेशको नामकरण हुन नसकेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले भने, “चार वर्षसम्म दुई तिहाइ बहुमत हुँदा नेकपा एमालेको नेतृत्व हुँदा जिम्मेवारी पूरा गरेन । अहिलेको सत्ता गठबन्धनमा ५० जना मात्र छ । दुई तिहाइका निम्ति एमालेले सहयोग गरेको छैन । एउटा सांसदको हैसियतले म पनि नाम राख्न नसकेको जिम्मेवारी लिन्छु । अरु जिम्मेवारी एमालेले नै लिनुपर्छ । जनताले त्यसको हिसाब गर्नेछन् ।”
संघीयताको मर्म अनुसार पहिचान र सामथ्र्यका आधारमा नाम राख्न सत्ता गठबन्धन सहमत रहेको पनि मन्त्री यादवले बताए । उनले थपे, “संघीयताको मूल मर्मअनुसार नाम राखौं भन्ने हो । प्रदेशबासीको पहिचान र सामर्थ्यका आधारमा नाम राख्ने हाम्रो ध्येय छ । कोशी, सप्तकोशी, किरात, लिम्बुवान, विराट, कोचिला, शेपालुङ आदि नाम छलफलमा छन् । तर नेकपा एमाले कोशीमा टसमस भएको छैन । नाम मात्र राख्ने हो भने अहिले पनि प्रदेश १ छँदै छ नि ।”
प्रदेश १ सरकार कोभिड नियन्त्रणमा सफल रहेको दाबी पनि उनले गरे । यादवले थपे, “१४ वटै जिल्ला अस्पताललाई तयारी हालतमा छन् । खोप सबै उमेर समूहका व्यक्तिलाई दुवै डोज खोप दिएका छौं । बुस्टर डोज लगाउने अभियान चलिरहेको छ । तर स्वास्थ्यकर्मीको अभाव छ । त्यसका लागि कोसिस गरिरहेका छौं ।”



प्रतिक्रिया दिनुहोस्