Logo

चुनावको मिति घोषणालगत्तै प्रधानमन्त्री देउवा अमेरिका जाने तयारीमा



काठमाडौं, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसद्को निर्वाचनको मिति घोषणा गरेलगत्तै अमेरिका भ्रमणमा जानेगरि तयारीमा जुटेका छन् । हालै अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लुले हालैको भ्रमणमा प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तो दिएको बुझिएको छ ।

सहायक विदेशमन्त्री दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अधिकारी हुन । उनले नेपाल बसाईको क्रममा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए । सो क्रममा उनले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तो दिएको बुझिएको छ ।

यसअघि देउवाले असार दोस्रो साता अमेरिका जाने तयारी गरेका थिए । तर, अमेरिकाको एसपिपी कार्यक्रमको कारण उनको त्यतिवेला हुने भनिएको भ्रमण विवादमा परेको थियो । सरकारले एसपिपी लागु नगर्ने भनेर निर्णय गर्नुको साथै सो निर्णय अमेरिकी सरकारलाई पत्राचारसमेत गरिसकेको अवस्था छ ।

अमेरिकी अधिकारीले भने देउवालाई निरन्तर रुपमा अमेरिका भ्रमणको लागि झक्झकाएका छन् । आगामी संघीय संसद्को निर्वाचनअघि नै अमेरिका देउवालाई भ्रमण गराउने तयारीमा जुटेको छ । लुसँगको भेटवार्ताको क्रममा पनि उनले आफू छिट्टै अमेरिकाको भ्रमण गर्ने विश्वास दिलाएका थिए ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुले नै अहिले अमेरिका नजान देउवालाई सुझाव दिएका छन् । प्रधानमन्त्री देउवाले विदेश नीति सन्तुलित रुपमा अघि बढाउन नसकेको भनेर पार्टीभित्रैबाट उनको विरोध भैरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot