Logo

अख्तियार गुहारेको भन्दै कामु प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरु उभिए



काठमाडौं, १६ साउन । अदालतमा हुने गरेका भ्रष्टाचार अख्तियारको छानबिनको दायरामा नपर्ने जिकिरहरु हुँदै आएका छन् । तर, सर्वोच्च अदालतको भवन निर्माणमा भ्रष्टाचार भएको चर्चा चलेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अख्तियारलाई पत्र लेखे । पत्रमा उक्त प्रकरण छानविनको विषय समावेश थियो ।

अख्तियार अदालतभित्र पनि प्रवेश गर्ने नजिर बसेमा अप्ठ्यारो परिस्थितिहरु आउने निष्कर्षमा पुगेका न्यायाधीशहरु कामु प्रधानन्यायाधीश कार्कीलाई शुक्रबाट भेट्न पुगे । उनीहरुले कार्कीले पठाएको पत्रप्रति असन्तुष्टि जनाए । उनीहरुले फूलकोर्ट बोलाउन दबाब दिए । न्यायाधीशहरु यस मामलामा कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध एकजुट भए ।

कार्कीले निजी सचिवालयमार्फत् अख्तियारलाई पत्र लेख्दै सर्वोच्च अदालतको भवन निर्माणका सम्बन्धमा भ्रष्टाचार भएको भन्ने सुनिएको भन्दै छानबिन अगाडि बढाउन आग्रह गर्दै पत्र पठाएका थिए । तर, सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले १९ वैशाखमा भवन निर्माणका सम्बन्धमा अख्तियारले छानबिन गर्न नसक्ने भन्दै पत्र पठाएका थिए । प्रधानन्यायाधीश र सर्वोच्च अदालतमाथि छानबिन गर्न नमिल्ने उनको जिकिर थियो ।

तर, कामु प्रधानन्यायाधीश कार्कीले पठाएको पत्र फरक खालको थियो । यसकारण पनि न्यायाधीशहरु कार्कीप्रति असन्तुष्ट भए । ५ अर्ब १९ करोड ८६ लाखको ठेक्कामा १ अर्बभन्दा बढी भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारले सर्वोच्चलाई नै पत्र लेखेर छानबिन गर्न मिल्ने हो या होइन भनी पत्र पठाएको थियो ।

अख्तियारको भवन निर्माणको ठेक्का समानान्तरले पाएको थियो । ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी समानान्तरले कालिकासँग मिलेर बनाएको कम्पनी विना पुरी कालिका समानान्तरले ठेक्का पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्