Logo

साफ यु-२०: फाइनल पुग्ने झिनो आशासँगै नेपाल बंगलादेशसँग भिड्दै



काठमाडौं, साउन १७ । भारतमा जारी साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । भुवनेश्वरीस्थित कालिंगा रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ४:१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा नेपाल जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । नेपाललाई फाइनल पुग्न आजको खेलमा जीतको विकल्प छैन । बंगलादेशलाई हराएपनि नेपालले भारतको नतिजा पर्खिनुपर्नेछ । भारतले आजै हुने खेलमा माल्दिभ्सको सामना गर्नेछ । नेपाल र भारतको समान ६/६ अङ्क भएपनि हेड टु हेडमा भारत दोस्रो र नेपाल तेस्रो स्थानमा रहेका छन् ।

प्रतियोगिताको शुरुवाती दुई खेलमा माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० गोलले पराजित गरेको नेपालले तेस्रो खेलमा भारतसँग ८-० गोलको लज्जास्पद हार बेहोरेको थियो । आजको खेलमा नेपालले बंगलादेशलाई पराजित गरे र भारत माल्दिभ्ससँग पराजित भए वा बराबरीमा रोकिए नेपाल फाइनल प्रवेश गर्नेछ ।

यदि भारत र नेपालले आफ्नो खेल जितेको खण्डमा नेपाल, भारत र बंगलादेशको समान ९/९ अङ्क हुनेछ । यस्तोमा तीन टिमबीचको हेड टु हेड र गोलअन्तरमा गणना गरिनेछ । हेड टू हेडमा भारत र बंगलादेश नेपाल अगाडि रहेका छन् ।

यता बंगलादेश भने प्रतियोगिताको एक्लो अपराजित टोली हो । हाल बंगलादेश ३ खेलबाट ९ अङ्क जोड्दै तालिकाको शिर्ष स्थान रहेको छ । भारतलाई २-१ गोलले पराजित गर्दै प्रतियोगिताको शुरुवात गरेको बंगलादेशले दोस्रो र तेस्रो खेलमा श्रीलंका र माल्दिभ्सलाई हराएको थियो ।



प्रतिक्रिया दिनुहोस्