Logo

माल्दिभ्समा किरण उत्कृष्ट गोलकिपर, उपाधि जितेपछि प्रेमिकालाई विवाहको प्रस्ताव



काठमाडौं, साउन १७ । नेपाली राष्ट्रिय फूटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा उत्कृष्ट गोलकिपर चुनिएका छन् ।

माजिया स्पोर्ट्स एण्ड रिक्रियसनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका किरणले लिगमा दोस्रोपटक उत्कृष्ट गोलकिपरको अवार्ड जितेका हुन् ।

यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट लिगसँगै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए । मायिजाले लगातार तेस्रो सिजन उपाधि जित्दै लिगमा ह्याट्रिक गर्ने क्रममा २१ मध्ये २० खेलमा जित हासिल गरेको हो ।

लिगको एक खेलमा मात्रै हार बेहोर्दै च्याम्पियन बनेको माजियाले सोमबार भएको अन्तिम खेलमा क्लब इगल्समाथि ५–० गोलको फराकिलो जित निकालेको हो । समाग्रमा माजियाको यो चौथो लिग उपाधि हो । माजियाले पहिलोपटक सन् २०१६ मा लिगको उपाधि जितेको थियो ।

माल्दिभ्सको दिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले प्रेमिका कन्चन निरौलालाई विवाहको प्रस्ताव राखेका छन् । उपाधि जितेपछि खुसियाली मनाउने क्रममा किरणले प्रेमिकासँग विवाहको प्रस्ताव राखेका हुन् ।

किरणले उक्त क्षणको भिडियो क्लिप सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेका छन् । लिगको उत्कृष्ट गोलकिपरसमेत चुनिएका किरणको टोलीले उपाधि उचालेर खुसियाली मनाउने क्रममा उनले विवाहको प्रस्ताव राखेका हुन् ।

विमान परिचालिका समेत रहेकी कन्चनले किरणको प्रस्तावलाई स्वीकार गरेकी हुन् । यसअघि किरण सहभागी हुने हरेक खेलमा कन्चन उपस्थित भएर किरणलाई हौसला दिने गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्