Logo

इमरानविरुद्धको वैदेशिक मुद्दाको फैसला आज हुँदै, दोषी ठहर भए आजीवन चुनाव लड्न प्रतिबन्ध



एजेन्सी, १७ साउन । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्धको विदेशी कोषको मुद्दामा मंगलबार फैसला आउँदैछ । यो निर्णय पाकिस्तानको निर्वाचन आयोगले घोषणा गर्ने भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

इमरान र उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले भारतलगायत धेरै देशबाट अर्बौं रुपैयाँको कोष उठाएको र सरकार, निर्वाचन आयोग वा वित्त मन्त्रालयलाई जानकारी नगराएको आरोप छ।

चार महिनाअघिसम्म मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तानको तारिफ गर्दै आएका इमरानले अहिले उनलाई हटाउन माग गरिरहेका छन् । खान दोषी पाइएमा उनलाई आजीवन चुनाव लड्न प्रतिबन्ध लाग्न सक्छ। पार्टीलाई पनि प्रतिबन्ध लगाउन सकिन्छ । विदेशबाट कुनै पनि राजनीतिक चन्दा लिन पाकिस्तानमा गैरकानूनी छ।

इमरानले सन् १९९६ मा पीटीआई बनाएका थिए । यसको संस्थापक सदस्यहरु मध्ये एक अकबर एस बाबर थिए। बाबर इमरानप्रति धेरै इमानदार र वफादार मानिन्थे । बाबरले सन् २०१४ मा इमरानविरुद्ध विदेशी फन्डिङविरुद्ध अदालतमा उजुरी दिएका थिए । अदालतले यो मुद्दा छानबिनका लागि निर्वाचन आयोगमा पठाएको थियो ।

यो मुद्दाको सुनुवाई नोभेम्बर १४, २०१४ देखि चलिरहेको छ, तर सेनाका प्रिय इमरानलाई बचाउन हर उपाय अपनाइयो । जब इमरानको सरकार पतन भयो र उनले सेनालाई नै धम्की दिन थाले, यो मुद्दाको सुनुवाइ दैनिक रूपमा सुरु भएपछि भने डराएका छन् ।

इमरान र उनको पार्टी पीटीआईले मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजालाई नियुक्त गरेका थिए। अहिले सिकन्दर उनीहरुको शत्रु बनेका छन् ।

जबसम्म फैसला उनको पक्षमा आइरहेको थियो, सबै ठीक थियो। अहिले वैदेशिक आर्थिक सहयोग मुद्दाको फैसला आउँदा इमरानले यी सुल्तानलाई भ्रष्ट र मुर्ख भन्दै हटाउन माग गरिरहेका छन् । राजाविरुद्ध इस्लामाबाद उच्च अदालतमा मुद्दा पनि दायर गरिएको थियो। अदालतले सुनुवाइका लागि उपयुक्त ठानेन।

 



प्रतिक्रिया दिनुहोस्