Logo

सय सिट चाहिने हो भने कांग्रेस एक्लै चुनाव लडोस्ः लीलामणि पोखरेल



काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई सय सिट दिन नसकिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “गठबन्धन समझदारीमा हुने हो । त्यसकारण कांग्रेसले यति सिट चाहिन्छ भनेर हुँदैन । कांग्रेसलाई सय सिट चाहिन्छ भन्ने हो भने एक्लै लडोस् न त । उसले केका आधारमा सय सिट मागिरहेको छ ? यसभन्दा अघि पाएको सिट हो कि स्थानीय तहको । हामीले आजको उपयुक्त निकास निकाल्न तयार हुनुपर्छ । दम्भ प्रकट गरेर मात्र हुँदैन ।”

“विप्लवलगायतका नेताहरुको पक्राउ पुर्जी तुरुन्त फिर्ता गर”
अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा पोखरेलले थपे, “चुनाव त हामीले गठबन्धनबाटै लड्ने हो । तर अहिले नै फलानो प्रधानमन्त्री को भन्ने कुरा आउँदैन । पहिले चुनाव हुन दिनूस् न ।”
उनले नेत्रविक्रम चन्द विप्लवलगायतका नेताहरुविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तुरुन्त फिर्ता लिनुपर्ने बताए । पोखरेलले भने, “अघिल्लो सरकारले तीनबुँदे सहमति गर्ने, यो सरकारले पक्राउ पुर्जी जारी गर्ने मिल्दैन । सहमति भनेको मानमर्दन र अलमल्याउन गर्ने होइन । विप्लव समूहले शान्तिपूर्ण राजनीतिमा आउन तयार छौं भनिसकेपछि फेरि अदालती प्रक्रियामा जाँदा फेरि अशान्ति मच्चिन सक्छ । त्यो पक्राउ पुर्जी आजै अहिल्यै तुरुन्तै फिर्ता गर्नुपर्छ ।”

“आरोप लगाउँदैमा अर्थमन्त्री अपराधी हुँदैनन्”
संसदीय समितिले निर्दोष भनिसकेपछि जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्त गरिएको दाबी पनि पोखरेलले गरे । उनले भने, “असम्बन्धित मान्छेलाई मन्त्रालयमा ल्याएर करको दर हेरफेर गरेको सम्बन्धमा संसदीय समितिको प्रतिवेदनले जनार्दन शर्मालाई निर्दोष भनिसकेपछि अन्याय गर्न मिल्दैन । संसदीय समिति भनेको न्यायिक समिति होइन । राजनीतिक समितिले फैसला गर्न पनि सक्दैन । गोपनीयताको पनि खोजबिन गर्न पाउँदैन । आरोप लगाउँदैमा मानिस अपराधी हुँदैन । आरोप प्रमाणित नभएपछि पदस्थापन नगर्नु अन्याय ठहर्छ । ”

“प्रचण्डको चीन भ्रमण वाम एकताका लागि होइन”

पार्टी अध्यक्ष प्रचण्डको जापान र चीनको भ्रमणलाई अन्यथा लिनुनहुने पनि उनले औंल्याए । उनले थपे, “जापानमा भएका नेपालीले धेरै पहिलेदेखि जनप्रगतिशील मञ्चमार्फत प्रचण्डलाई आमन्त्रण गरेका थिए । त्यसक्रममा राज्यसँग सम्बन्धित व्यक्तिहरुसँग पनि सामान्य संवाद हुन सक्छ । जहाँसम्म चीन भ्रमणको कुरा हो, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुखसहितको टोलीले चीन भ्रमणको निम्तो दिएर गएको थियो । त्यसै क्रममा जान लाग्नुभएको हो । चिनियाँ राष्ट्रपतिसँगको भेटघाट निश्चित छैन ।” चीन भ्रमण वाम एकताका लागि नभएको पनि उनको जिकिर छ ।

“अमेरिकाले चीनको सार्वभौमिकताविरुद्ध चलखेल गरेको छ”

साथै उनले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण चीनको सार्वभौमिकताविरुद्ध चलखेल भएको आरोप पनि लगाए । पोखरेलले भने, “चीन एक चीन नीति अन्तरगत संयुक्त राष्ट्रसंघको सदस्य छ । तर ताइवान संयुक्त राष्ट्रसंघको सदस्य होइन । ताइवानको निर्वासित सरकारलाई भेटेर अमेरिकाले चीनको सार्वभौमिकताविरुद्ध चलखेल गरेको छ । हामी चीनको सार्वभौमिकतालाई मात्र चिन्छौं । दक्षिण चीन सागरमा नाटोका सैनिक तैनाथ गर्ने र माइन बिच्छाउने कार्यको हामी भत्सर्ना गर्दछौं ।”



प्रतिक्रिया दिनुहोस्