Logo

गगन थापाले प्रधानमन्त्रीमा दाबी गर्दा अन्यथा लिनु पर्दैनः कांग्रेस नेता



काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीमा दाबी गर्नुलाई अन्यथा लिन नहुने बताएका छन् । स्वतन्त्र युवाहरुले दिएको चुनौतीलाई चिर्न पनि निर्वाचनपूर्व नै सरकारको नेतृत्वमा युवा पुस्ता आउने सुनिश्चित गर्नु बुद्धिमत्ता हुने उनको तर्क छ ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शिवाकोटीले भने, “चुनावअगाडि भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने कांग्रेसको अभ्यास छ । २०५६ को आम निर्वाचनमा पनि पार्टीले कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो । भलै उहाँले लामो समय सरकार चलाउन पाउनुभएन । यसपटक महामन्त्री गगन थापाले पनि सरकारमा गएको स्थितिमा यसरी काम गर्न सकिन्छ भनेर बहस र छलफल चलाउनुभएको छ । यसलाई पार्टीले पुँजीका रुपमा लिनुपर्छ । मुलुकमा परिवर्तन खोज्ने युवा पुस्ताले प्रधानमन्त्रीमा दाबी गर्नु अन्यथा हुँदैन ।”
टिकट वितरण गर्दा कम्तीमा ५० प्रतिशत युवालाई दिनुपर्ने पनि उनले औंल्याए । शिवाकोटीले भने, “अहिले नयाँ नयाँ दल, स्वतन्त्र युवाहरु प्रतिस्पर्धामा आएका छन् । त्यसको सन्देशलाई समयमै बुझ्न सकेनौं भने हामीलाई घाटा लाग्न सक्छ । स्थानीय तहको निर्वाचनबाट पनि शिक्षा लिएर कांग्रेसले कम्तीमा ५० प्रतिशत युवालाई टिकट दिनुपर्छ ।”
पार्टीभित्रको एकतालाई बेवास्ता गरी अरु दलहरुसँग मात्र गठबन्धन गरेर उपलब्धि नहुने पनि शिवाकोटीले बताए । उनले भने, “कांग्रेस एक्लै जान सक्दैन भन्ने कुरा सत्य होइन । कांग्रेस बहुमतउन्मुख र ठूलो दलका रुपमा रहन्छ भन्ने कुरा स्थानीय तहको निर्वाचनले देखाइसकेको छ । तर गठबन्धनका नाममा अरुलाई बोकेर हिँड्दै गर्दा आन्तरिक एकतालाई पनि नजरअन्दाज गर्न मिल्दैन ।”
कांग्रेसलाई गठबन्धन छाड्न केपी ओलीले सल्लाह दिनुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा शिवाकोटीले भने, “त्यो गठबन्धन रहिरहे एमाले ५-७ सिटमा खुम्चिन्छ कि भन्ने डर भएकाले आएको कुण्ठाको अभिव्यक्ति हो । उहाँ कुनै पनि चुनावमा गठबन्धनबिना जानुभएको छैन ।”

वर्तमान सरकारले जनताको आशा र भरोसा पूरा गर्न नसकेको उनको आरोप छ । शिवाकोटीले शान्तिप्रक्रियामा प्रवेश गरेको विप्लव समूहलाई बिच्काउनु राम्रो नहुने पनि औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्