Logo

देउवाजीले प्रधानमन्त्रीमा महन्थ ठाकुरलाई स्याक्रिफाइस गरेको भए हुन्थ्यो त : कर्ण (भिडिओसहित)



काठमाडौं, १८ साउन । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले आगामी निर्वाचनमा दलहरु एक्लाएक्लै लड्ने हो भने आफूहरु भिड्नको लागि तयार रहेको बताएका छन् । तर, गठबन्धन भयो भने आफूहरुले पनि त्यसको लागि सोच्ने उनको भनाई छ । उनले भने,‘हामी पनि कुनै न कुनै गठबन्धनमा आवद्ध हुन्छौं । हामी सिटमा तालमेल गर्छौं ।’

उनले आफूहरु शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनमा नै जाने सम्भावना पनि रहेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान देउवा सरकारमा सहभागी भएपनि आगामी निर्वाचनमा एमालेसँग पनि सहकार्य हुनसक्ने सम्भावना पनि सुनाए ।

यद्धपी उनले चुनावी तालमेल सिटमा गर्ने र आफूहरुले कुनैपनि पार्टीको प्रतिबद्धतालाई अंगीकार नगर्ने स्पष्ट पारे । उनले यसपटक प्रधानमन्त्री बनाउनको लागि आफ्नो पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आग्रह गरिएको सुनाए । उनले भने,‘महन्थ ठाकुर एउटा सम्मानित नेता हो । त्यस्तो व्यक्तिलाई गफ गरेर, उधारो कुरा गरेर प्रधानमन्त्रीको कुरा गर्ने, ०७४ को निर्वाचनपछि महन्थ ठाकुर राष्ट्रपति बन्दैहुनुहुन्छ भन्नेपनि हल्ला आएको थियो । पछि सभामुख बन्ने पनि हल्ला आयो, अहिले पछि त झनै प्रधानमन्त्री बन्ने कुरा पनि आयो । शेरबहादुरजीले म पाँचौ पटक प्रधानमन्त्री बन्दिनँ, आउनुहोस महन्थजी तपाईँ बन्नुहोस भनेर स्याक्रिफाईस गरेको भए हुन्थ्यो नि ।”



प्रतिक्रिया दिनुहोस्