Logo

जसले सात महिनामै इनरुवा अस्पतालको काँचुली फेरिदिए



सात महिनाअघिसम्म सुनसरी जिल्ला अस्पताल इनरुवा ‘रेफरल सेन्टर’ जस्तो मात्र थियो । सामान्य मलमपट्टीबाहेक अर्थोक उपचार हुँदैनथ्यो । अस्पताल परिसरमा एम्बुलेन्स लाम लाग्थ्यो । तिनीहरु ‘रेफर’ गरिएका बिरामी टिप्थे र हिँड्थे ।

मेडिकल सुपरिटेन्डेन्ट (मेसु), डाक्टर नटिक्ने ठाउँका रुपमा कुख्यात थियो जिल्ला अस्पताल । चार वर्षमा चार जना मेसु अदलीबदली भएको थियो । अस्पतालमा डाक्टर कुटिनु सामान्य घटनाजस्तो लाग्थ्यो भने उपचार नपाएका बिरामीका आफन्त अस्पतलाई गालीगलौज गरिरहेका भेटिन्थे ।

अस्पतालको उत्थानभन्दा पनि सम्पर्क केन्द्र बनाएर इनरुवामा क्लिनिक चलाउने सोच राख्थे अधिकांश डाक्टर । काम गर्नुपर्ला भनेर कर्मचारीले नै अस्पतालका उपकरण बिगारिदिन्थे । डाक्टर-कर्मचारी अस्पतालमा भेटिँदैनथे, कर्मचारी जानकारी नै नदिई बिदामा बस्थे भने काउन्टरमै रकम हिनामिना हुन्थ्यो ।

डा. देवराज घिमिरे मेसुका रुपमा आएपछि सेवाग्राहीहरु भन्न थालेका छन्, ‘एउटा मेसुले कति फरक पर्दछ अस्पतालमा… ।’ हुन पनि एउटा बदनाम अस्पतालले काँचुली फेरेको छ । भौतिक पूर्वाधारले सम्पन्न चिटिक्क परेका भवन, फूलबारी, पार्किङस्थल मात्र होइन, रेफरको लाइन उपचारको लाइनमा बदलिएको छ ।

अस्पतालमा २४ घन्टै डाक्टर उपलब्ध हुन्छन् । बिहान १० बजे खुलेर दिउँसो ४ बजे बन्द हुने ल्याब, एक्स-रे र फार्मेसी २४सै घन्टा खुला हुन्छन् । इमर्जेन्सी सेवा चुस्त दुरुस्त छ । दैनिक बिरामीको संख्या अढाइ सयदेखि ४ सयसम्म पुग्छ । सात जना विशेषज्ञ डाक्टर थपिएका छन् ।

प्रयोगशाला जाँच १५ वटासम्म हुन्थे, अहिले सयवटा पुग्छ । ओपीडीमा आठ जना मेडिकल डाक्टर समयमै बस्न थालेका छन् । अस्पतालमै अक्सिजन प्लान्ट जोडिएको छ । थायराइड मेसिन जडान भएको छ । इन्डोस्कोपी, हाडजोर्नी सेवा थपिएको छ । अस्पतालको आफ्नै एम्बुलेन्स छ ।

पहिले-पहिले डाक्टर कर्मचारीले तीनचार महिनासम्म तलब पाउँथेनन् । अहिले महिनाको २८-२९ गते नै तलब पाउँछन् । एउटै तहका कर्मचारीको तलब असमान थियो, अहिले एकरुपता छ । अहिले पोशाक नलगाउने, आईडी कार्ड नलगाउने कर्मचारी भेटिँदैनन् । भौतिक पूर्वाधार बढेका छन् । सदरमुकामबासीको रोजाइमा परेको छ, ५० शय्या क्षमताको राणाकालीन इनरुवा अस्पताल ।

जल्पापुरको गरिब मुसलमान, हरिनगरको गरिब मेहेता, डुम्राहाको विपन्न चौधरी, बलाहाको गरिब ब्राह्मण अनि चाँदबेलाको गरिब मुसहर मात्र होइन, समस्त सदरमुकामबासी अस्पतालको सक्षम नेतृत्वप्रति गौरवान्वित छन् । किनभने २४सै घन्टा अस्पतालमा खट्छन् मेसु डा. घिमिरे । बाहिर ‘प्राक्टिस’ गर्दैनन् । इमर्जेन्सीमा आफैं बस्छन् ।

डा. घिमिरेले आफैं अग्रसर भएर अस्पतालमा शून्यबाट काम सुरु गरे । स्वतःस्फूर्त रूपमा टिम बन्यो । त्यसमा इनरुवा नगरपालिका र स्थानीयको सहयोग पाए । ‘चारपाँच वटाभन्दा बढी निःशुल्क औषधि नपाइने अस्पतालमा अहिले सरकारले तोकेको १ हजार ३ सयमध्ये ३ सय २४ औषधि उपलब्ध छन्,’ डा. घिमिरे सुनाउँछन्, ‘क्षमता हुनेले निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्न सक्छन् । तर, गरिब जनताको बाँच्ने सहारा नै सरकारी अस्पताल हुन् ।’

त्यसो त काम नगर्ने कर्मचारीलाई स्पष्टीकरण सोध्दै निकालेपछि मेसु डा. घिमिरेको विरोध पनि यदाकदा नसुनिएको होइन । खासगरी २२ जनालाई प्रतिस्पर्धामार्फत करार भर्ना गरेपछि एउटा समूह उनीसँग आक्रोशित छ । उनलाई असफल बनाउन तानाबाना समेत बुनिरहेको छ ।

डा. घिमिरेले सामाजिक सञ्जालमै लेखे पनि, ‘इनरुवा जिल्ला अस्पतालबाट म कसैको धम्कीले डराएर भाग्छु भन्ने सोच्नु दिवास्वप्न हुनेछ । म गरिबको डाक्टर हुँ, यहाँसम्म सुधारेँ, सुधार गर्दैछु । डाक्टर कहिले जाला र लुटौँला भनेर ढोकामा बस्ने दलाल, माफिया र राजनीतिक दलको खोल ओढेका ब्वाँसाहरुसँग भिड्ने नै हो । तर जिल्ला अस्पताल बनाएर नै छाड्ने हो ।’

दुई वर्षभित्र एउटा जिल्ला अस्पतालमा हुने सेवासुविधा पूर्ण रुपमा सञ्चालन गर्ने मेसु डा. घिमिरेको अठोटका कारण अस्पतालमा २० वर्षदेखि हालिमुहाली गरिरहेको गिरोह अत्तालिनु अस्वाभाविक पनि होइन । तर स्थानीय उनको पक्षमा खुलेका छन् र अस्पताल सुधार अभियन्ताहरुले खबरदारी जुलुस समेत निकालिरहेका छन् ।

‘जसले पालो फेरीफेरी दुवै हातले बाक्लो दूधको छाली स्वाद मारीमारी खायो, अस्पतालमा आएका सुविधा आफ्नो पोल्टामा हाल्यो अनि महँगा अस्पतालमा रेफर गराएर गरिब जनताको खुन पसिना चुसेर आफू रमाउने कार्यमा उद्यत समूह मेराविरुद्धमा छ,’ डा. घिमिरे भन्छन्, ‘एउटै समुदायका २६ जनासम्म आफन्त अस्पतालमा करार कर्मचारी थिए । के यो कसैको प्राइभेट लिमिटेड हो ?’

विक्रम संवत् २०४४ मा ओखलढुंगामा भीमबहादुर घिमिरे र रुकु घिमिरेको सुपत्रका रुपमा जन्मेका हुन्, डा. घिमिरे । उनी सानै हुँदा परिवार मिथिला नगरपालिका-१० धनुषा बसाइँ सर्‍यो । सात कक्षासम्म लालगढमा उखुले छाएको चुहिने सरकारी स्कुलमा पढे । त्यतिबेला ओभरसियर रहेका दाजुले उनलाई चितवन लगे र प्रेमबस्ती उच्च माध्यमिक विद्यालयबाट २०५८ मा एसएलसी गरे ।

अमृत साइन्स कलेजबाट आईएस्सी अनि नोबेल मेडिकल कलेज विराटनगरबाट एमबीबीएस गरेका डा. घिमिरेले बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानबाट एमडी गरे । कुनै बेला उनले रेडियोलोजी पनि पढेका थिए ।

सामान्य किसान परिवारमा जन्मेका डा. घिमिरेले जहिल्यै सरकारी विद्यालय पढे, त्यो पनि छात्रवृत्तिमा । ‘मैले छात्रवृत्तिमा एमडी पढेको हुँ । दुई वर्ष अनिवार्य सरकारी अस्पतालमा सेवा दिनुपर्ने भएकाले इनरुवा आइपुगेँ,’ उनी भन्छन् ।

डा. घिमिरेको परिवार ठूलो छ । उनका आठ दाजुभाइ र दुई दिदीबहिनी हुन् । उनी सानै छँदा गाडीले हानेर आमाको देहान्त भयो । त्यससँगै बुबाले संन्यास ग्रहण गरे । घर वरिपरिकै जंगलमा आश्रम बनाएर बसेका बुबाको पनि कोभिडका कारण निधन भइसकेको छ ।

आमाको देहान्त अनि बुबाको संन्यासपछि परिवारको सम्पूर्ण लालनपालन, पढाइलेखाइ, विवाहदानको जिम्मेवारी उनका जेठा दाजु डा. रामहरि घिमिरेले सम्हाले । हाल उनी नोबेल मडिकल कलेजका प्रिन्सिपल छन् ।

डा. घिमिरेको परिवारमा चार दाजुभाइ, भाउजू र भतिजी डाक्टर छन् । जेठा दाजु डा. रामहरि श्वासप्रश्वास विशेषज्ञ हुन् । अनिष घिमिरे दाँतका डाक्टर र कृष्णहरि घिमिरेले एमबीबीएस गरेका छन् । भाउजू स्त्रीरोग विशेषज्ञ हुन् भने भतिजी पनि अमेरिकामा डाक्टर छिन् ।

‘मेरो भगवान् भने पनि अभिभावक भने पनि जेठा दाइ नै हुनुभयो । उहाँलाई मैले बाबुपछिका बाबुको सम्मान दिएको छु,’ डा. घिमिरे भन्छन्, ‘यसरी पढ्नुपर्छ, डाक्टर बन्नुपर्छ भनेर कानमा हालिदिएको पनि उहाँले नै हो । यसरी स्कलरसिपमा नाम निस्कन्छ भनेर मार्गदर्शन दिने पनि उहाँ नै हो ।’

डा. घिमिरेले सुजाता श्रेष्ठसँग अन्तर्जातीय प्रेम विवाह गरेका छन् । सुजाता पब्लिक हेल्थमा स्नातकोत्तर गरी पूर्वाञ्चल विश्वविद्यालयमा लेक्चरर छिन् ।

कलेज पढ्दा राजनीति पनि गरे उनले । समाजसेवा र संगीतमा रुचि छ । ठाउँठाउँमा स्वास्थ्य शिविर राखेर विपन्न वर्गलाई निःशुल्क औषधि वितरण गर्दै आएका छन् भने कुनै दिन एलबम निकाल्ने सोच पनि बनाएका छन् ।

‘म भुइँको मान्छे हुँ । एमडी गर्दा बल्ल मोटरसाइकल चढेको हुँ, पाँच रुपियाँ भाडा नभएर हिँडेका दिन झलझली सम्झन्छु,’ उनी भन्छन्, ‘बिरामीको सेवा गर्नु मात्र होइन, समाजसेवा र समाज परिवर्तनमा योगदान पुर्‍याउनु पनि चिकित्सकको धर्म हुनुपर्छ ।’

डा. घिमिरेमा कुनै लोभलालच छैन । तर देशलाई केही गर्नुपर्छ भन्ने हुटहुटीचाहिँ छ । ‘म जागिरदार डाक्टर हुँ । मैले अरुले जस्तै दुनो सोझ्याएर हिँडे पनि हुन्थ्यो,’ उनी भन्छन्, ‘आफू पनि गरिब परिवारमै जन्मेहुर्केकाले म गरिबीको पीडा र अभावसँग परिचित छु । यहाँका हजारौं सेवाग्राहीका दिलमा बसेर जाने मेरो धोको छ ।’

मेसु डा. घिमिरेको सत्प्रयास जारी छ, ‘इनरुवा अस्पताल बन्नेछ, हामी बनाउने छौं ।’

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्