Logo

मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुला, १० स्थानमा अडिसन हुने



काठमाडौं, १८ साउन । चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुल्ला भएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रालिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ संस्करणका लागि आवेदन खुला गरिएको जनाएको हो ।

प्रतियोगितामा सहभागी हुन चाहने युवायुवतीहरुले आधिकारिक वेबसाइट रजिस्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छ भने खल्ती एपमार्फत पनि आवेदन दिन सकिने जह इन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश चौधरीले जानकारी दिए । खल्ती एपबाट आवेदन दिँदा १० प्रतिशत क्यासव्याक समेत सुविधा पाउने छन् । आवेदनका लागि ६०० रुपैयाँ शुल्क तोकिएको छ । आयोजकका अनुसार अडिसनको मितिदेखि एक दिन अगाडिसम्म फारम भर्न सकिने छ ।

मिस्टर एण्ड मिस थारुको आवेदन खुल्ला गरिएसंगै अडिसनको मिति समेत तय गरिएको छ । विगतजस्तै यसपटक पनि देशका मुख्य १० शहरहरुमा अडिसन हुँदैछ । अडिसन यही साउन २१ गतेदेखि सुरु हुँदैछ । पहिलोदिन सुनसरीको झुम्का, पर्साको वीरगंज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्जमा अडिसन हुने इभेन्ट डिरेक्टर जयस चौधरीले जानकारी दिए ।

यस्तै दोस्रो अडिसन साउन २४ गते मोरङको विराटनगर, सिरहाको लहान, कैलालीको टिकापुरमा एकैसाथ हुने छ । तेस्रो तथा अन्तिम अडिसन साउन २८ गते काठमाडौं, दाङ र बुटवलमा एक साथ हुने चौधरीले जानकारी दिए ।

अडिसनबाट छनौट भएकाहरुलाई भदौंमा अभिमुखीकरणमा सहभागि गराइने छ । त्यसलगत्तै काठमाडौँ बाहिर ग्राण्ड फिनाले गर्ने आयोजकको तयारी छ । लगातार दुई संस्करणको ग्राण्ड फिनाले काठमाडौंमा भएको थियो भने तेस्रो संस्करणको फिनाले चितवनमा भएको थियो । थारु बाहुल्यता भएका जिल्लाहरुमा ग्राण्ड फिनालेहरु गर्दै लैजाने तयारी भइरहेको जह इन्टरटेनमेन्ट प्रा.लि. का निर्देशक रुपेश चौधरीले जानकारी दिए । सोही अनुरुप यसपटक पनि काठमाडौँ बाहिर नै ग्राण्ड फिनाले गर्ने तयारी भइरहेको छ ।

यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार र मिस थारु लिभा थारु भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्