Logo

सर्वोच्चको भवन निर्माण अनियमितता छानबिन गर्न माग



काठमाडौं, साउन १९। सर्वोच्च अदालतमा कार्यरत रहेका कर्मचारी ट्रेड युनियनले सर्वोच्चको भवन निर्माणको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै भवन निर्माणका विषयमा सार्वजनिक सञ्चार माध्यमदेखि महालेखा परीक्षक कार्यालयसम्मले प्रश्न उठाएकाले छानबिन गर्न माग गरेका हुन् ।

‘सर्वोच्च अदालतलगायत मुलुकका विभिन्न अदालतको भवन निर्माण ठेक्का सम्बन्धमा निष्पक्ष रूपमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गरी अनियमितता भएको देखिए दोषीउपर कारबाही गर्न र सर्वोच्चले अदालतको आन्तरिक व्यवस्थापन सौहार्दपूर्ण कायम राख्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिका त्यसमाथि न्यायको मन्दिर निर्माणमा पनि अनियमितता र भ्रष्टाचारको कुरा उठ्दा हामी सम्पूर्ण न्यायकर्मीको शिर निहुरिएको अवस्था छ ।’

सर्वोच्च अदालत लगायतका अदालतमा भवन निर्माण गर्दा ठेक्का प्रक्रियामा अनियमितता भएको भनी विभिन्न सञ्चार माध्यममा समाचार निरन्तर समाचार प्रकाशन भएको र सर्वोच्च अदालत प्रशासन तथा कामुप्रधान न्यायाधीशको सचिवालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अलग–अलग व्यहोराको पत्राचार हुँदा असामान्य अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

‘यस्तो गम्भीर विषयमा प्रधान न्यायाधीशज्यू, अन्य न्यायाधीशज्यू, सर्वोच्च अदालत प्रशासन र कर्मचारीको एउटै धारणा हुनुपर्ने हाम्रो मान्यता रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतलगायत विभिन्न अदालतका भवन निर्माणका सम्बन्धमा सार्वजनिक भएका तथ्यले सबैको ध्यानाकर्षण भएकाले यसमा निष्पक्ष छानबिन हुन जरुरी देखिन्छ ।’

भवन निर्माण सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत कार्य भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी र महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा समेत भवनको ठेक्का प्रक्रियामा मितव्ययीता कायम हुन नसकेको भनी उल्लेखित विषयप्रति ट्रेड युनियनले ध्यानाकर्षण गराएको छ ।



प्रतिक्रिया दिनुहोस्