Logo

रामकुमारी झाँक्रीलाई धमलाको प्रश्नः “माधव नेपालसँग तपाईंको बोलचाल छैन ?”



काठमाडौं, १९ साउन । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग एक महिनादेखि कुनै पनि संवाद नभएको बताएकी छन् ।
प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेतृ झाँक्रीले भनिन्, “माधव नेपालले बोलाउनुभएको छैन । काम पनि परेको छैन । म पार्टी सचिव भए पनि खासै जिम्मेवारी छैन । मन्त्री पनि छैन, रिपोर्टिङ गर्नु पनि परेको छैन । तर, पार्टी अध्यक्षलाई नमान्ने भन्ने कुरा छैन । जुन प्रश्न हामीले ओली सरलाई गरेर आयौं, त्यो माधव नेपाल वा म आफैंलाई पनि हुन्छ ।”
आफू तत्काल एमालेमा प्रवेश गर्ने सम्भावना नभएको पनि झाँक्रीले बताए । उनले भनिन्, “एकीकृत समाजवादी हामीले बल्ल बल्ल बनाएको पार्टी हो । यसलाई कम्युनिस्ट आन्दोलनको मूलप्रवाह बनाउने सपना देखेका छौं । हामीले टाढाको बाटो पहिल्याएको हो । व्यक्तिगत रुपले म एमालेमा जाने तयारीमा छैन । राजनीति सम्भावनाको खेलको । भविष्यको कुरामा म जान चाहन्नँ ।”

मन्त्री बदलीमा कुनै गुनासो नरहेको र चुनाव घोषणापछि आआफ्नो काममा खटिने पनि उनले बताइन् ।

 



प्रतिक्रिया दिनुहोस्