Logo

प्रचण्डले केपी ओलीलाई तीन वर्षसम्म नेता मान्दा ठीक हुने, अनि हामीले मान्दा कसरी बेठिक भयो ? : टोपबहादुर रायमाझी



काठमाडौं, १९ साउन ।  नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरुप्रति जनताको वितृष्णा रहेको भन्दै यसबारेमा समिक्षा हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बौल्दै उनले यस्तो बताएका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई तीन वर्षसम्म नेता मान्दा ठीक हुने र आफूहरुले मान्दा कसरी बेठिक हुने भनेर प्रश्न गरेका छन् । उनले भने,‘प्रचण्डले तीन वर्ष ओलीलाई नेता मान्दा ठिक हुने । अनि हामीले मान्दा बेठिक भयो त ?’ उनले आफूहरुले पदको लागि माओवादी छोडेको भन्ने आरोपमा सत्यता नभएको जिकिर गरे । उनले भने,‘म अहिले सांसद पनि छैन् । मन्त्री पनि छैन् । म त्याग गर्न पनि तयार रहेको मान्छे हुँ ।’

निर्वाचनमा कसले जित्छ भनेर अहिले अड्कलबाजी गर्ने बेला नभएको उनको टिप्पणी थियो । उनले भने,‘राजनीतिक पार्टीप्रति जनतामा वितृष्णा पैदा भैरहेको छ । अहिले कठिन छ । दलहरुसँग जनताको आशा थियो । त्यो पूरा नभएपछि वितृष्णा भएको छ । काठमाडौंको मेयर हुनुभन्दा पहिले बालेन शाहले पनि काठमाडौं उपत्यका सफा गर्छु भन्नुभएको थियो । अहिले फोहोरको थुप्रो देखिएको छ। अहिले बालेनलाई गाहो परिरहेको छ ।’

रायमाझीले विषय उठाउन सजिलो भएपनि त्यसलाई बैठाउन गाह«ो रहेको सुनाए । उनले आफूले भौतिक पूर्वाधारमन्त्री हँुदा काठमाडौं सडक विस्तार गरेको पनि दाबी गरे । यस्तै, स्थानीय विकासमन्त्री हुँदा काठमाडौंको फोहोरको व्यवस्थापन १५ दिनभित्र गरिदिएको उनको दाबी छ । उनले सबै नेतालाई एउटै डालोमा नहाल्नसमेत आग्रह गरेका छन् । उनले अब देश नयाँ कार्यदिशाका साथ अघि बढाउने सुनाए । उनले भने,‘हामी नयाँ कार्यदिशामा छौं । त्यो भनेको समृद्धिको कार्यदिशा हो ।’



प्रतिक्रिया दिनुहोस्