Logo

सत्ता गठबन्धनका कुन दलले कति सिट पाउलान्



काठमाडौं, १९ साउन । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुने तय भएलगत्तै सत्ता गठबन्धन प्रत्यक्षतर्फको सिट बाँडफाँडमा केन्द्रित भएका छन् । यसका लागि गठबन्धनका शिर्ष नेताहरुको बैठक भोलि बस्ने भएको छ ।

गठबन्धनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ र प्रदेश सभातर्फ ३३० सिटमा तालमेल गरेर चुनाव लड्न बाँडफाँड गर्ने तयारी गरिरहेका छन् । दलको विगत चुनावको अवस्था, स्थानीय चुनावको नतिजालगायतलाई आधार मानेर मोडालिटी तय गरिने बुझिएको छ ।

२०७४ को निर्वाचनमा जुन दलको सांसद जितेको हो त्यसलाई प्राथमिकता दिएर सिट बाँडफाँड गर्ने भद्र सहमति भइसकेको बुझिएको छ । बाँकी सिटहरुमा बाँडफाँड सहमतिमा गर्ने तयारी भएको छ ।

नेपाली काँग्रेसले अघिल्लो चुनावमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ २३ सिट जितेको थियो । माओवादीले ३६ जितेको थियो । प्रत्यक्ष जितेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी एमालेमा प्रवेश गरिसकेका छन् । यसलाई आधार मान्दा माओवादीको प्रत्यक्षतर्फ ३२ सिट रहेको छ ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालले अघिल्लो चुनावमा १० सिट प्रत्यक्ष जितेको थियो । जनमोर्चा नेपालले १ सिट जितेको थियो ।

एमालेबाट फुटेको नेकपा एसमा प्रत्यक्ष चुनाव जितेका १५ जना सांसद छन् । यसलाई गणना गर्दा ८१ सिट गठबन्धनका प्रत्यक्षतर्फ निर्वाचित सांसद छन् । बाँकी ८४ सिट कस्को भागमा कति हुने भन्नेमा छलफल बढी केन्द्रित हुने देखिएको छ ।

काँग्रेसले १६५ मध्ये कम्तिमा ६० प्रतिशत सिट दाबी गरेको छ । काँग्रेसबाहेकका गठबन्धनका दलहरु कम्तिमा आधा सिट दाबी गरिरहेका छन् ।
प्रदेश सभाको प्रत्यक्षतर्फको सिट विभाजन पनि कठिन छ । दलहरुमा आकांक्षी धेरै भएकाले समस्या धेरै आउनसक्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्