Logo

करारकालाई हटाएर करारमै नियुक्ति



हेटौँडा, साउन २० । पछिल्लो समय स्थानीय तहहरूले करारमा भएका कर्मचारीहरूको म्याद थप नगरी हटाइएका कर्मचारीको स्थानमा पुनः करारमा नै राख्ने लहर नै चलेको छ। गत असार मसान्तसम्म करार म्याद भएका र लामो समयदेखि काम गर्दै आएका कर्मचारीको म्याद थप नगरी नयाँ आर्थिक वर्षको सुरुवातसँगै करारमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ।

गत स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका कतिपय स्थानीय तहका पदाधिकारीहरूले अघिल्लो नेतृत्वले नियुक्त गरेका करारका कर्मचारीहरूको म्याद थप नगरी पुनः करारमा नियुक्तिको प्रक्रिया थालेका हुन्। मकवानपुरमा जिल्लाका केही स्थानीय तहहरूले करारमा रहेका कर्मचारीहरूको म्याद नगरी पुनः करारमा कर्मचारी राख्न प्रक्रिया थालेपछि यो विषय अदालतसम्म पुगेको छ।

खाली पदहरूमा प्रदेश लोकसेवा आयोगमा पदपूर्तिका लागि नपठाइएको र लोकसेवा आयोगमार्फत पदपूर्तिको सम्भावना रहँदा रहँदै आयोगसँग माग नगरी करारलाई निरन्तरता दिँदै ठूलो सङ्ख्यामा कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशित गरेको पाइएको छ।

कतिपय पालिकाहरूले करारमा रहेका पुरानैलाई निरन्तरता दिने गरी निर्णयसमेत गरेका छन्। करारमा रहेका ८० कर्मचारीको असार मसान्तबाट म्याद थप नगरेको मकवानपुरगढी गाउँपालिकाले पुनः कर्मचारी करारमा भर्ना गर्न विज्ञापन निकालेको छ। पालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत सुरज पौडेलले करार थप नभएपछि पालिकामा रिक्त रहेको इन्जिनियरलगायतका २४ पदमा करारमा भर्ना गर्न विज्ञापन निकालेको जानकारी दिए।

राक्सिराङ गाउँपालिकाले स्वास्थ्य सेवाका २८ प्राविधिक कर्मचारीको म्याद थप नगरी पुनः करारमार्फत भर्ना गर्न विज्ञापन आह्वान गरेको छ। पालिकाका सूचना अधिकारी अन्जन हटुवालले म्याद थप नगरिएका स्वास्थ्यका कर्मचारीहरूले पाउँदै आएको तलब सुविधाका कारण पालिकालाई आर्थिक भार बढी भएको र थेग्नै नसक्ने अवस्थामा पुगेकोले ती कर्मचारीको म्याद थप नगरिएको जानकारी दिए। उनले तलब सुविधा कम दिने गरी कार्यविधि बनाएर पुनः करारमा नयाँ कर्मचारी भर्ना गर्न पालिकाले सूचना प्रकाशित गरेको बताए।

एता, बकैया र भीमफेदी गाउँपालिकाले करारमा रहेका कर्मचारीहरूको म्याद थप गर्ने वा नगर्ने बारेमा कुनै प्रक्रिया अगाडि नबढाएको जनाएको छ। करारमा रहेका १८ जना कर्मचारीको म्याद थप नगरेको बागमती गाउँपालिकाले कर्मचारी भर्नाका लागि थप प्रक्रिया सुरु गरेको छैन। इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईंले करारमा रहेका प्राविधिकसहितका ४६ जना कर्मचारीहरूको आगामी पुस मसान्तसम्मका लागि म्याद थप गरिएको बताए।

मकवानपुरका स्थानीय तहहरूले अघिल्लो पाँच वर्ष गुजारे पनि पालिका सभाबाट पालिकाको सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण तयार नगरेको पाइएको छ। कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण तयार हुँदै गरेको जानकारी दिए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्