Logo

जापानमा रोजगारी दिने सहमति



काठमाडौं, साउन २० । नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापानका अधिकारीबीच सहमति भएको छ ।

नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलत संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए ।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलपछि यसअघिको समझदारीमा देखिएका नीतिगत र व्यावहारिक कमजोरी हटाई छिटो नेपाली श्रमिक जापान पठाउने सहमति भएको जनाइएको छ ।

समितिको बैठकमा नेपाल पक्षको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले गरेका थिए भने जापान टोलीको नेतृत्व सहायक उपमन्त्री चोसुमो नाकागावाले गरेका थिए ।

सो बैठकले नेपाल जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्था समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने, जापानको एसएसडब्लू प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नेपर्ने कार्यविधि बनाउने निर्णय गरेको छ ।

यसैगरी बैठकमा नेपालमा जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण गर्ने र जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट एसएसडब्लू प्रणालीअन्तर्गत नेपालबाट श्रमिक उपलब्ध हुनसक्ने विषयको जानकारी रोजगारदातालाई गराउने विषयमा छलफल भएको जानकारी दिइयो । त्यस्तै बैठकमा सूचना प्रवाह सही र छिटोछरितो बनाउनुपर्ने विषयमा पनि छलफल भएको छ ।

२०७५ चैत ११ गते (सन् २०१९ मार्च)मा एसएसडब्लू प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्नेगरी नेपाल र जापान सरकारबीच श्रम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो ।

सो प्रणालीअन्तर्गत जापान सरकारले विदेशी श्रमिकले जापानमा गर्नुपर्ने काम कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटल, रेस्टुरेन्ट पर्यटन, निर्माण, नसिङ, केयरगिभर व्यवसायलगायत १४ वटा क्षेत्रभित्रका काममा जान पाउनेछन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्