Logo

दुईदलीय पद्धतिमा नजाने हो भने फेरि पनि प्रचण्ड, माधव नेपाल प्रवृत्ति हावी हुन्छः महेश बस्नेत



काठमाडौं, २० साउन । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टी बहुदलीयबाट दुई दलीय व्यवस्थामा जान चाहेको स्पष्ट पारेका छन् । बहुदलीय व्यवस्थामा जाँदा प्रचण्ड, माधव नेपाल प्रवृत्ति हावी हुने उनको तर्क छ ।
“हिजो आन्दोलन र संघर्षका दौरान धेरै पार्टी चाहिन्थे होलान् । तर अहिले विकास र समृद्धिका लागि दुईदलीय पद्धतिमा जानुपर्ने आवश्यकता छ । बहुदलीय व्यवस्थामै रहनु भनेको फेरि पनि प्रचण्ड, माधव नेपाल प्रवृत्ति हावी हुने कुरा हो,” बस्नेतले नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग भने ।
एमाले राज्यको पहिचानका विषयमा बहस गर्न तयार रहेको उनले औंल्याए । बस्नेतले थपे, “हामीले धर्मभन्दा पनि कला, संस्कृति, संस्कार, सभ्यतालाई जोगाउने कुरा गरेका छौं । नेकपा एमाले परम्परागत मूल्य, मान्यता, संस्कृतिको स्रोत धर्म पनि हो । तर हामी अन्ध रुढीवादी होइनौं ।”
एकल वा गठबन्धन जाने भन्दा पनि सही मुद्दा र सही उम्मेदवारी लिएर निर्वाचनमा जाने पनि बस्नेतले बताए । उनले थपे, “नेकपा एमाले राष्ट्रियता, समृद्धि, सामाजिक सद्भावको एजेन्डा लिएर चुनावमा जान चाहन्छ । हामीसँग केपी शर्मा ओली जस्तो निर्विकल्प नेता हुनुहुन्छ । लाखौं युवाको जमात छ । सरकार र गठबन्धन बदनाम भएकाले हामी आफ्नै संगठनको बलमा जाने तयारी गर्दैछौं ।” कतिपय क्षेत्रमा अन्य दलसँग तालमेल हुन सक्ने पनि उनले औंल्याए ।
एमाले नेता बस्नेतले गृहमन्त्रालय मिटरब्याज पीडितलाई न्याय दिन नलागेको आरोप पनि लगाए । उनले भने, “गृहमन्त्रालयको ध्यान कसलाई सीडीओ, डीआईजी, आईजीपी बनाउने भन्नेमा छ । कमिसन कसरी खाने भन्नेमा छ । अर्थमन्त्रालयको सीसीटीभी फुटेज हटाउन सिंगो गृहमन्त्रालय लाग्यो । मिटरब्याजपीडितलाई न्याय दिन राज्य लागेको छैन ।”



प्रतिक्रिया दिनुहोस्