Logo

कांग्रेसलाई कसैको बैसाखी चाहिँदैनः अर्जुननरसिंह केसी



काठमाडौं, २० साउन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी निर्वाचनमा कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा परिस्थितिमा निर्भर हुने बताएका छन् । परिवर्तनको पक्षधरले युवा नेतृत्व खोज्नु स्वाभाविक भएको पनि उनको धारणा छ ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले थपे, “जनमानसमा युवाहरुको नेतृत्व देखिएको छ । युवा पुस्ता आउँदा मेरो सहयोग र समर्थन हुन्छ । तर आगामी निर्वाचनपछि कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरामा म कमिटमेन्ट गर्दिनँ । म परिवर्तनको पक्षधर हुँ । सुरक्षा क्षेत्रमा लाग्नेले सेनापति, आईजीपी बन्छु भन्छ भने राजनीतिक क्षेत्रमा लाग्नेको अन्तिम उद्देश्य प्रधानमन्त्री हुन्छ नै । त्यो चाहना गगनजी, मेरो वा कसैको होला । त्यो परिस्थिति निर्माण भएपछि सोच्ने कुरा हो ।”
आगामी निर्वाचन कांग्रेस र गठबन्धन दलहरुलाई ५०-५० प्रतिशत सिट भागबन्डा गर्नु प्रत्युत्पादक हुने पनि नेता केसीले बताए । उनले भने, “आधा-आधाको सम्भावना म देख्दिनँ । कमसेकम ६०-४० को भागबन्डा सन्तुलित हुन सक्छ । त्यसमा दुईचार सिट तलमाथि होला । पार्टीको सम्मानलाई सुरक्षित राख्न नेतृत्व कति सजग र सचेत हुन्छ ? त्यो परीक्षाको घडी छ । बाँडीचुँडी गरेर आफ्ना पिछलग्गुलाई स्थापित गर्ने हो भने त्यसले गम्भीर परिणाम आउन सक्छ । थुप्रै ठाउँमा बालेनहरु देखापर्न सक्छन् ।”
नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको पनि केसीको दाबी छ । उनले थपे, “कांग्रेसलाई कसैको वैसाखी चाहिँदैन । अहिलेसम्म नेपाली कांग्रेस एक्लै लड्दै आएको होइन ? सरकारमा गठबन्धन बाध्यात्मक हो । मूल कुरालाई बेवास्ता गरेर सौदाबाजीमा लाग्दा लोकतन्त्रलाई फाइदा गर्दैन । त्यसले पार्टीलाई ठूलो घाटा हुन्छ ।”
कांग्रेसको शेखर कोइराला पक्षलाई त पत्तासाफ हुने देखियो नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता केसीले भने, “शेरबहादुर देउवा हाम्रो पनि सभापति हुँ । म पनि शेरबहादुरकै मान्छे हुँ । तर कोही दास भएर राजनीतिमा आएको होइन । पार्टीभित्रको गतिविधि एकपक्षीय देखिएको छ । पार्टीमा हाम्रो समूहले ४२ प्रतिशत मत ल्याएकै हो नि । निर्वाचनमा गुटको मान्छे भन्दा पनि जनप्रिय र योग्य नेतालाई उम्मेदवारीबाट वञ्चित नगरियोस् भन्ने नै हो ।”
आगामी निर्वाचनमा उम्मेदवारी दिन आफू तयार रहेको पनि केसीले बताए । उनले भने, “निर्वाचनको मिति घोषणा भएको छ । गठबन्धनको मापदण्ड, औचित्य के हुन्छ, म त्यसको प्रतीक्षामा छु । म न थाक्छु, न भाग्छु । न चुक्छु, न झुक्छु । चुनाव लड्ने र नलड्ने कुरा मात्र होइन राजनीति । आवश्यकता अनुसार उम्मेदवारी दिन तयार छु ।”



प्रतिक्रिया दिनुहोस्