Logo

एकीकृत समाजवादी १६५ संघीय निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सक्षम छः झलनाथ खनाल



काठमाडौं, २० साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी १६५ संघीय र ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सक्षम रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “एक्लै लड्ने पनि हक छ, तालमेल गर्ने पनि हक छ । हाम्रो पार्टीको केन्द्रीय परिषद्को बैठकले १६५ संघीय निर्वाचन क्षेत्र र ३३० प्रादेशिक क्षेत्रमा उम्मेदवार उठाउने तयारी गर्ने भनिसकेको छ । हाम्रो नवोदित पार्टी हो । तर यसको विकास र विस्तार तीव्र छ । विभिन्न पार्टीबाट आउने र नयाँ युवा प्रवेश गर्ने क्रम जारी छ । अब आउने निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी) महत्त्वपूर्ण शक्तिका रुपमा आउँछ ।”
पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँडका लागि आधारहरु तय भइरहेको पनि खनालले बताए । उनले भने, ‘२०७४ मा प्रतिनिधिसभाको निर्वाचन एउटा आधार बन्यो । त्यसपछि थप भएका विकासका कुरालाई पनि ध्यानमा राख्नुपर्यो । नयाँ तथ्य तथ्यांकमा पनि कन्सिडर गर्न सकिन्छ । एमालेले जितेका ठाउँमा शक्ति, प्रभाव र व्यक्तित्वहरुका आधारमा साझा निष्कर्ष निकाल्छौं ।” कांग्रेसको मापदण्डका विषयमा पनि शीर्ष नेतृत्व तहमा बसेर छलफल हुने उनले औंल्याए ।
मुलुकलाई समाजवादतर्फ लाने पार्टीका पक्षमा चुनावी परिणाम आउने ठोकुवा पनि उनले गरे । खनालले भने, “जनता नै न्यायाधीश हुन् । जनताले समाजवाद निर्माणका लागि योग्य पार्टी र प्रतिनिधि चुन्नुपर्ने अवस्था छ ।”
सैद्धान्तिक एकरुपता भएका पार्टीहरुबीच साझा घोषणापत्र र चुनाव चिह्न लिएर जानेबारेमा पनि छलफल चलिरहेको उनले जानकारी दिए । उनले थपे, “आधारभूत रुपमा राजनीतिक भिन्नता भएको पार्टीसँग साझा घोषणापत्र र चुनाव चिह्न लिएर जान सकिँदैन तर दुई वा दुईभन्दा पार्टीहरु साझा घोषणापत्र र चिह्न राख्न निर्वाचन ऐनले ढोका खोलिसकेको छ । यस अर्थमा नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र, जसपा र राजपाबीच त्यस्तो वातावरण बन्न सक्छ ।”

 



प्रतिक्रिया दिनुहोस्