Logo

चुनाव नजिकिदै गर्दा नास्तिक देखि धर्मनीरपेक्ष पक्षधर नै ‘हिन्दूवादी’ देखिन खोजेपछि…



काठमाडौं, २० साउन । देशमा हिन्दू मतदाता धर्मनीरपेक्षको विपक्षमा उभिएको चाल पाएर राजनीतिक दलका नेताहरु धमाधम हिन्दूवादी देखिन थालेका छन् । आफूलाई नास्तिक भन्ने कम्युनिस्ट नेताहरु नै सबैभन्दा बढी हिन्दूवादी देखिन थालेका छन् ।

हिन्दू धर्मप्रति सदभाव देखाउँदै मतदाता तान्न नेताहरुले फरक रणनीति चालिरहेका छन् । त्यसमध्ये एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा अगाडि देखिएका छन् । उनले आफूलाई नास्तिक भन्छन् । प्रधानमन्त्रीका रुपमा सपथ लिंदा समेत ईश्वरका नाममा लिन मानेनन् । ओली कम्युनिस्ट पार्टीका नेता हुन् र माक्र्सवादी विचारधारा राख्छन् जुन विचारले धर्मलाई अफिम भन्छ । तर, पशुपतिनाथमा सुनको जलहरी राख्ने देखि आरतीमा सहभागी हुने सम्म गरे ओलीले ।

हिन्दू धर्मालम्बीले भगवान मान्ने गरेका श्रीराम नेपालका र अयोध्या पनि नेपालकै भएको ओलीको दाबीले निकै चर्चा बटुल्यो । तर, उनै ओलीले महेश बस्नेतबाट हिन्दूराष्ट्रको मुद्दा पार्टीमा छलफलका लागि बढाउँदा रोकिदिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि धार्मिक कार्यक्रममा सरिक हुन थालेका छन् । उनले पत्नी गायत्रीका साथ पहिलोपटक पशुपतिनाथको दर्शन गरेर तस्बिर नै सार्वजनिक गरे । पछिल्लो समय धार्मिक गतिविधिमा सक्रिय भइरहेका छन् । तर, माधव नेपालमाथि होली वाइनको कार्यक्रममा सरिक भएपछि गम्भीर आरोप छ । उनले खुलेरै धर्मनीरपेक्षमा जोड दिदै आएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धर्मप्रति अनुदार नै छन् । तर, पनि उनको घरमा हिन्दूवादी योगगुरु रामदेव पुग्नुलाई अर्थपूर्ण मानिएको छ । प्रचण्ड स्वयं पतञ्जली पुगे । अर्कोतर्फ, भारतको हिन्दूवादी दल भाजपाको केन्द्रीय कार्यालयमा प्रचण्ड पुगे । उनले हिन्दू धर्मालम्बीले गर्ने पूजामा पनि सरिक भएको विषय उठ्यो ।

धार्मिक गतिविधिमा वामपन्थी नेता वामदेव गौतम पनि सरिक हुन थालेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा देखि प्रभावशाली धेरै नेताहरु धर्मनीरपेक्षका पक्षधर हुन् । देउवाले धर्मबारे बोलेका छैनन् । उनी पछिल्लो समय धार्मिक गतिविधिमा सक्रिय हुन थालेका छन् । काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि पनि धर्मनीरपेक्षका पक्षधर हुन् । तर, उनी पनि धार्मिक गतिविधिमा देखिन थालेका छन् । भाजपा नेताहरुसँग हालै भेटेका छन् ।

काँग्रेस महामन्त्री गगन थापाको निधारमा प्रायः रातो टीका देखिन थालेको छ । तर, अर्का महामन्त्री विश्वप्रकाश शर्मा धर्मबारे उदार देखिदैनन् । उपसभापति धनराज गुरुङ धर्मनीरपेक्षका कट्टर समर्थक हुन् । अर्का उपसभापति पूर्णबहादुर खड्का मौन छन् । तर, कोइराला परिवारका डा. सशांक कोइराला र डा. शेखर कोइराला धर्मनीरपेक्ष हटाउनुपर्ने पक्षमा छन् । उनीहरु आक्रामक रुपमा हिन्दूराष्ट्रको पक्षमा भने आउन चाहेको देखिदैछ ।

काँग्रेसभित्र हिन्दूराष्ट्र पक्षधर बहुमतमा भएपनि ती तल्लो एकाईमा मात्र छन् । माथिल्लो एकाईमा धर्मनीरपेक्षका पक्षधर बहुमतमा छन् ।



प्रतिक्रिया दिनुहोस्