Logo

पुष्पराज केसीको ‘गुम्सिएका व्यथाहरू’ कवितासङ्ग्रहको विमोचन (भिडियोसहित)



काठमाडौं, २० साउन । कवि पुष्पराज केसीका गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमबीच वरिष्ठ पत्रकार र समालोचकहरूले कवितासङ्ग्रहको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, वरिष्ठ पत्रकारहरु शम्भु श्रेष्ठ, राजकुमार बानियाँ, ईश्वरी वाग्ले, अग्रज व्यक्तित्व श्यामबहादुर खत्री र कवि पुष्पराज केसीले संयुक्त रुपमा कवितासङ्ग्रहको विमोचन गरेका हुन् । कवितासङ्ग्रह ब्रदर्श बुक्सले प्रकाशन गरेको हो ।

ललितपुर महालक्ष्मी ८ विष्णुडोलका केसीको कवितासङ्ग्रहले जन्मभूमिप्रतिको प्रेम, प्रकृतिप्रेम देखि राजनीतिक विसंगतिप्रति तीखो व्यङ्ग्य गरेको छ । उनले समाजभित्र गुम्सिएका कथा व्यथालाई सरल भाषामा लयवद्ध तरिकाले सृजना गरेको वरिष्ठ समालोचक राजकुमार बानियाँले बताए । बानियाँले कवि केसीले आफ्ना अनुभव, भोगाई र संघर्षलाई समेत कवितामार्फत् प्रस्तुत गरेको भन्दै भविष्यमा कृतिहरू सृजनाका लागि प्रेरित हुने सफलताको कामना गरे ।

समालोचक बाँनियाले कविता मौलिक र लयले भरिएको टिप्पणी गरे । कविले आफ्नो जन्मथलोलाई अगाध स्नेह गर्ने कवितामार्फत् प्रकट गरेको बताए । जन्मथलो विष्णुडोल गाउँ र वरपरको समाजको बारेमा पनि कविताले धेरै व्यक्त गरेको टिप्पणी गरे । कवि केसीले छोटो कविता लेखेको र पढ्न पनि सरल रहेको टिप्पणी गरे । कवितामा प्रकृतिप्रेम, राजनीतिप्रति व्यङ्ग्य र विद्रोहभाव रहेको बताए । कवितासङ्ग्रहमा खण्डहरु छुट्याएको भए राम्रो हुन्थ्यो भन्ने सुझाव दिए ।


वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले कवितामा धेरै वेदनाहरु पोखिएको बताए । स्वच्छ मनले पञ्चायतकालदेखि कम्युनिस्ट राजनीतिमा लागेकाहरु पछिल्लो घटनाक्रमले विद्रोहभाव जाग्नु स्वाभाविक भएको बताए । नेताहरु बिग्रिएको र भ्रष्टाचारमा लागेकाले देश गम्भीर अवस्थामा पुगेको बताए ।

गुम्सिएका व्यथाहरुमा विद्रोहको भाव प्रकट गरेको टिप्पणी गरे । आफूले लामो समयदेखि केपी शर्मा ओलीसँग संगत गरेको सुनाए । उनले प्रचण्ड जस्तो अस्थिर मान्छेसँग एकता गर्दा विचार पु¥याउन भनेको खुलासा गरे । कविताले कम्युनिस्ट राजनीतिको धेरै यथार्थ खोलेको टिप्पणी गरे ।

गोर्वाचोभले सोभियत संघ विघटन गरेको जस्तै केपी ओलीले कम्युनिस्ट पार्टी विघटन गरेको तर्क गरे । उनले भने,‘देश छिमेकी चीन र भारत दुवैले विश्वास नगर्ने अवस्थामा पुगेको छ ।’

वरिष्ठ पत्रकार एवं रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले केसीले कवितासङ्ग्रहमार्फत् आफ्नो भावना प्रकट गर्न सकेको टिप्पणी गरे । उनले कवितासङ्ग्रह यो युगको कथा व्यथा समेत भएको बताए । कवितासङ्ग्रह समयसापेक्ष भएको भन्दै भविष्यमा थप कृतिहरु सृजना गर्ने प्रेरणा मिलोस् भनी शुभकामना दिए । उनले कवि केसी समाजसेवी भएको र समाजको हितमा सधै लागिपर्ने स्वभावको व्यक्तित्वका रुपमा आफूले चिनेको बताए । आफू कवि पुष्पराज केसीको जन्मथलो विष्णुडोलमा पनि पुगेको र त्यो ठाउँ सृजनशीलहरुको थलो भएको बताए ।

वरिष्ठ पत्रकार ईश्वरी वाग्लेले कविता सरल र सहज भएको टिप्पणी गरे । इतिहास र वर्तमानलाई पनि । सत्ताप्रतिको आक्रोश कवितामार्फत् पोखिएको बताए । विभिन्न समयमा आएका भावनाहरु कवितामा समेटिएको टिप्पणी गरे । कविता लेख्ने जाँगर चल्नु नेपाली साहित्यका लागि लाभदायक हुने बताए । समाजमा लेखेर, बोलेर पनि विचार अभिव्यक्त भइरहनुपर्नेमा जोड दिए ।

वरिष्ठ पत्रकार समेत रहेका कवि छत्र कार्कीले स्रष्टाका रुपमा पुष्पराज केसीलाई पाउँदा खुशी लागेको बताए । केसीले कवितामार्फत् आजको परिवेशलाई स्पष्ट रुपमा व्यक्त गरेको बताए । कुनैपनि कृतिमा अझ सुधार गर्ने अवसर प्राप्त हुने बताए ।

अग्रज व्यक्तित्व श्यामबहादुर खत्रीले कवितासङ्ग्रह लेखेकोमा पुष्पराज केसीलाई बधाई तथा शुभकामना दिए । उनले भविष्यमा अझ सृजना गर्ने उत्साह प्राप्त हुने आशा व्यक्त गरे ।

कवि पुष्पराज केसीले केही कविता पढेर सुनाएका थिए । उनले कवितासङ्ग्रह सम्पादन गर्ने इन्द्रबहादुर खत्री तथा प्रकाशित गर्न प्रेरणा दिने सबैलाई धन्यवाद दिए ।



प्रतिक्रिया दिनुहोस्