Logo

उजाड पाखो बन्यो फलफूलको बगैँचा



काठमाडौँ,२० साउन । म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा व्यवसाय गर्दै आएका खेम केसीले पर्वतको जलजला–७ केराबारीको ढुङ्गे पाखोलाई खनिखोस्री मलजल गरेर पाखैभरि केराखेती गरेका छन् ।

नाम केराबारी भए पनि भिरालो जमिनमा चट्यानै चट्यान रहेको पाखोलाई सम्याएर उनले दुई हजार ५०० भन्दाबढी केराका बिरुवा लगाएका छन् । आजभन्दा करिब चार वर्ष अगाडि २०७५ साल फागुन महिनामा बेनी नगरपालिका– २ खबराबाट प्रतिबिरुवा ६० रुपैयाँका दरले ४०० केराका बोट लिएर केराखेती सुरु गरेका छन् ।

चार वर्षको अवधिमा केसीले केराखेती विस्तार गरी अहिले ३० रोपनी आफ्नो जग्गामा दुई हजार ५०० केराका बिरुवा लगाएका छन् । उनले पाखैभरि हजारे, मुग्रे, धुर्से प्रजातिका केरा तथा अन्य फलफूलखेती लगाएपछि उजाड पाखा अहिले फलफूलको बगैँचामा परिणत भएको छ ।

एल्भिन फलफूल फर्म दर्ता गरी व्यावसायिकरुपमा केराखेती सुरु गरेका केसीको फर्ममा हाल कागती, एभोकाडो, अम्बा, आँप, लिचीलगायत गरी ५०० फलफूलका बिरुवा हुर्किरहेका छन् । मौरीपालन पनि गरेका उनको फर्ममा ५० मौरीका घारसमेत छन् । करिब एक हजार ५०० केराका बोटले फल दिन थालेको जनाइएको छ ।

काँचो केरा बोटबाटै एक दर्जनलाई एक सय रुपैयाँमा बिक्री हुने गरेको छ । एक हजार ५०० बोटको केराबाट मासिक रु ५० हजारभन्दा बढी कमाइ हुने गरेको कृषक केसीले बताए । एक घारीमा दुई सयदेखि दुईसय ५० वटासम्म केरा हुन्छ अरु सबै केरा पनि राम्रोसँग सप्रिएका छन् । उनले भने, “अघिल्लो वर्षदेखि मासिक ५० हजार त केरा बेचेर मात्रै कमाइ भएको छ, साँच्चै भन्नुपर्दा मलाई केराखेती फापेको छ ।”

केरामात्रै होइन केसीको फार्मबाट केराका बिरुवासमेत विक्री हुने गरेको छ । यो वर्ष म्याग्दीको राखु, पर्वतको बाँसखर्क, लस्टीलगायतका स्थानमा करिब दुई हजार वटा बिरुवाप्रति बिरुवा एक सयका दरले बिक्री भएको उनको भनाइ छ ।

रु तीन लाख लगानीबाट सुरु गरेको उनको फार्ममा अहिले रु १२ लाख लगानी पुगको छ । धानखेतीयोग्य जमिनमा समेत बीचबीचमा केरा लगाएका केसीले केही पनि उब्जनी नहुने पाखालाई समेत केराबारीमा परिणत गरेका छन् ।

कहिलेकाहीँ परिवार तथा साथीसङ्गी गएर बस्नका लागि कटेजसमेत निर्माण गरेका केसीको फार्ममा पुग्दा वरिपरिको शान्त र सुन्दर वातावरणले मनलाई आनन्दित तुल्याउने गर्दछ । बेनीको कालिपुलमा केवि अटोपार्टस होण्डा स्वरुमसमेत सञ्चालन गर्दै आएका ४६ वर्षीय केसीलाई श्रीमती सपना केसीले पनि कृषि खेतीमा राम्रो साथ दिएका छन् । फार्ममा फर्सी, घिरौँला, भेन्टा, तितेकरेला, हरियो खुर्सानीलगायत अन्य तरकारी पनि राम्रोसँग उत्पादन हुने गरेको छ ।

हिजोआज उनको धेरैजसो समय पसलतिर ग्राहकसँगभन्दा पनि केराबारीको केरासँगै बित्ने गरेको छ । केरा पसायो पसाएन, पकाउन राख्ने वा बेच्ने बेला भयो भएन, हेर्नका लागि पनि प्रत्येक दिनजसो उनी केराबारीमा पुग्छन् । रासस



प्रतिक्रिया दिनुहोस्