Logo

रेणुको उपेन्द्रसँगको सहकार्य सकियो, अब कता जालिन्



काठमाडौं, २० साउन । जनता समाजवादी पार्टीबाट राजीनामा दिनुअघि रेणु यादव सोही दलबाट भौतिक पूर्वाधारमन्त्री थिइन् । मधेशका नेताहरुमध्ये सरकारमा जाने अवसर धेरै पाउनमध्ये उनी नै हुन् । मधेशवादी दलमा लागेपछि उनी पटक पटक मन्त्री बनिन् ।

कुनैबेला रेणु यादव पूर्वपञ्चहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध थिइन् । राप्रपाबाट मन्त्री पनि बनिन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि एकपटक सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएका थिए । त्यतिबेला उनी राज्यमन्त्री बनेकी थिइन् ।

मधेश आन्दोलनपछि रेणुले राप्रपा छाडिन् । उनी उपेन्द्र यादवसँग नजिकिइन् । तत्कालीन मधेशी जनअधिकार फोरममा आवद्ध भइन् । रेणुको लामो समयसम्म उपेन्द्र यादवसँग सहकार्य रह्यो ।

संघीय समाजवादी फोरम हुँदै समाजवादी पार्टी त्यसपछि जनता समाजवादी पार्टी गठन हुँदा पनि उपेन्द्रको साथमा रहिन् । एकपटक संघीय समाजवादी पार्टी फुट्न लाग्दा उनी विभाजनकारी शक्तिको पक्षमा लागेको चर्चा चल्यो । तर, पछि हटिन् ।

रेणुले शेरबहादुर देउवा पाचौंपटक प्रधानमन्त्री भएपछि रेणु भौतिक पूर्वाधारमन्त्री बनिन् । उपेन्द्र यादवले पटक पटक अवसर दिएको भन्दै आलोचित भए । तर, मन्त्रीबाट हटेपछि रेणु असन्तुष्ट भइन् । जसपामा गैरमधेशी हावी भएको भन्दै रेणुले पार्टीमा नरहेको सार्वजनिक रुपमा भनिन् । अहिले उनलाई जिम्मेवारीबाट हटाइएको छ ।

अब रेणुको राजनीतिक यात्रा कता पुग्ने हो चासो बनेको छ । उनी मधेश केन्द्रित दलमै जाने चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्