Logo

जीर्ण बन्दै कर्णाली पुल



टीकापुर, साउन २१ । सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन।

२०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्।

जापानको कावासाकी हेभी इन्डिसट्रिजले पुल निर्माण गरेको थियो। एउटै जगमा दुईवटा खम्बामा बनाइएको पाँच सय मिटर लामो पुलको दुवैतिर ३०–३० वटा फलामे लठ्ठाको सहायताले सन्तुलन मिलाइएको छ।

पुलको नियमित रूपमा बेलाबेला मर्मत सम्भार गर्नुपर्ने प्राविधिकहरूले बताएका छन्। खम्बाको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर लम्बाइ भएको पुलको सन्तुलन मिलाउन पूर्वतर्फ पुलमुनि झुन्डिएको घर र गोदाम बनाइएको छ।

मर्मतसम्भारको जिम्मा पाएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्राविधिकहरू बेलाबेलामा आएर खम्बाभित्रबाट माथि गएर भार सन्तुलन हेर्ने, पुलमा प्रयोग भएका फलाममा खिया लागेको अवस्था अवलोकन गर्ने काम मात्र गर्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।

तराजु शैलीमा दुवैतिरको भार सन्तुलन मिलाइएको पुलमा अचेल बिना रोकटोक जति पनि सवारी साधन गुड्न थालेका छन्। ती सवारी साधनको तौल कति छ भन्ने कुरा ख्याल नगरेरै पुलमा ओहोरदोहोर गर्ने गरेका छन्।

पहिले पुलमा एक पटकमा दुईवटा गाडी ओहोरदोहोर गर्न पाउने व्यवस्था थियो तर अहिले गाडीले बोकेको सामानको तौल नजाँची जति पनि सवारी सााधन छाडिने गर्दा पुल कतिबेला के हुने हो भन्ने चिन्ता हुन थालेको स्थानीय शिक्षक मार्कण्डेय उपाध्यायले बताए।

२०५० सालमा पुल सञ्चालनमा आइसकेपछि भूतपूर्व सैनिकका ३२ जनाको टोलीले पुलको सुरक्षा गर्दै आएका थिए। २०६१ सालमा तत्कालीन नेकपा माओवादी र सरकारी सुरक्षा फौजबीच भीडन्त भई गोली हानाहान हुँदा पुलको १४२ ठाउँमा गोली लागेको छ। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्