Logo

एमाले र कांग्रेसबाहेकका पार्टी पुच्छर हुन्, गठबन्धनको गाँठागुँठीमात्र छः लालबाबु पण्डित



काठमाडौं, २१ साउन । नेकपा एमालेका नेता लालबाबु पण्डितले पाँच दलीय गठबन्धन आफ्नो पार्टीसँग एक्लै लड्न डराइरहेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले भने, “नेकपा एमालेसँग एक्लै लड्न सक्दैनौ भनेर पाँच दलीय गठबन्धन गर्न लागिएको जगजाहेर छ । एमाले आवश्यक पर्दा एक्लै पनि प्रतिस्पर्धा गर्न तयार छ । कोही राजनीतिक पार्टीले चाहेमा साथ र सहयोग लिएर जान पनि तयार छ ।”
उनले गठबन्धनका दलहरु नेपाली कांग्रेसमा प्रवेश गरे पनि एमाले नडराउने बताए । पण्डितले थपे, “एमालेको दबाबले गर्दा घोषणा गर्न सरकार बाध्य भएको छ । गठबन्धनका दलहरु अझै पनि चुनाव भाँड्ने कोसिस गरिरहेका छन् । गठबन्धनको गाँठागुँठीमात्र छ । उनीहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्दा पनि केही फरक पर्दैन ।”
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको अस्थिर प्रवृत्ति देशका निम्ति समस्या भएको पनि पण्डितले औंल्याए । उनले भने, “गत निर्वाचनमा हामीले प्रचण्डसँग सहकार्य गरेका हौं । दुई तिहाइ नजिकको सिट आएकै हो । प्रचण्डको अस्थिर प्रवृत्तिका चुनाव जितेपछि पनि देउवाको पाउमा राखेर सरकार बनाउन चाहनुभयो । त्यो सम्भव नभएपछि एमालेमा आउनुभयो, रडाको मच्चाउनुभयो । जनयुद्धका नाममा लुटपाट मच्चाउने पार्टीले बाह्र–सत्ताइस कुरा गर्नुको कुनै अर्थ छैन । एमाले परिणाम ल्याउने गरी चुनावमा जाँदै छ ।”
मुलुकमा एमाले र कांग्रेस बाहेकका पार्टी नचाहिने पनि उनले बताए । पण्डितले थपे, “अहिले मुलुकमा कतिवटा पार्टी छन् ? मागी खान पनि श्रीमान्, श्रीमती र छोराछोरी राखेर बर्खे च्याउनजस्ता पार्टी बनाएका छन् । कांग्रेस कतिवटा छ । मधेसमा हिजोको सद्भावना पार्टी कतिवटा छन् ? कागजी र नक्कली पार्टीको पछि लागेर के काम ? कांग्रेस र एमालेबाहेक तेस्रो पार्टीको अर्थ छैन । अरु पार्टी पुच्छर मात्र हुन् ।”



प्रतिक्रिया दिनुहोस्