Logo

रमेश लेखकको स्वीकारोक्तिः “कांग्रेस संन्यासीको अखडा वा भजनकीर्तन गर्ने पार्टी त होइन नि !”



काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता रमेशदत्त लेखकले पाँच दलीय गठबन्धनभित्र संविधान र लोकतन्त्रका आधारभित्र चरित्रमा कुनै असहमति नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, “पाँच दलीय गठबन्धनभित्र संविधान र लोकतन्त्रका आधारभूत विषयमा एकमत छ सहमति छ । हामी त्यसलाई टेकेर अघि बढिरहेका छौं । चित्रबहादुर केसीजीले संघीयता नमान्नु फरक कुरा भयो ।”
राजनीतिक दलहरुको उद्देश्य नै चुनाव जितेर सरकार बनाउने हुनुपर्ने लेखकले औंल्याए । उनले थपे, “सरकारमा जाँदै जान्नँ भनेर कसम खाएको कुन दल छ संसारमा ? सरकार नबनाउने वा दलको नेतालाई प्रधानमन्त्री बनाउन नचाहने राजनीतिक दल छ र ? राजनीतिक दल भनेको संन्यासीको अखडा वा भजनकीर्तन गर्ने संस्था त होइन नि ।”
परिस्थिति अनुसार नेपाली कांग्रेस एक्लै वा गठबन्धन दुवैमा जान तयार रहेको पनि लेखकले बताए । उनले भने, “नेपाली कांग्रेसले निर्वाचनमा एक्लै जाँदै जान्नँ भन्ने कसम खाएको छैन । हिजो पनि गएको हो, भोलिको दिनमा पनि जान सक्छ । एक्लै चुनावमा जानुपर्ने परिस्थिति आयो भने त्यसका लागि तयार छ ।”
नेपाली कांग्रेस पटक पटक सरकारमा गए पनि जनताले के पाए त भन्ने पत्रकार धमलाको प्रश्नमा नेता लेखकले भने, “माओवादीलाई शान्तिप्रक्रियामा कसले ल्याएको हो ? संविधानसभाबाट कसको नेतृत्वमा संविधान बनेको हो ? हलियामुक्ति, कमैयामुक्ति, छुवाछुत अन्त्यको कदम चाल्ने पार्टी नेपाली कांग्रेस होइन र ?”

 



प्रतिक्रिया दिनुहोस्