Logo

गठबन्धनमा सिट बाँड्न कार्यदल गठन



काठमाडौं, साउन २१। सत्तारूढ पाँच दलले आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट कार्यदल बनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारूढ पाँच दलीय बैठकले ‘आगामी निर्वाचनमा तालमेलबाटै अघि बढ्ने’ निष्कर्ष निकाल्दै सिट बाँडफाँट कार्यदल बनाएको हो ।

बैठकमा सहभागी कांग्रेस नेता तथा सरकारका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन बैठकले आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल निर्णय गरेको जानकारी दिए । ‘बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गरेको छ,’ बैठकपछि कार्कीले भने ।

सिट बाँडफाँटका लागि गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएको छ । जसमा प्रमुख सत्तारूढ दल कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तोकिएका छन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

कार्यदललाई ‘कुन दलले कति सिट लिने?’ भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न समय दिइएको छ । ‘तालमेल मोडालिटीबारे कार्यदलमा आगामी बैठकमा छलफल हुने कार्कीले जानकारी दिए । ‘कार्यदलले सिट बाँडफाँट मोडालिटी बनाउँछ, मोडालिटी विषयमा अब बस्ने गठबन्धन बैठकमा छलफल हुन्छ,’ कार्कीले भने ।

स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धन प्रमुख घटक कांग्रेसले ८५ देखि ९० सिटमा दाबी गरेको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्रले ५० भन्दा बढी सिटमा अपेक्षा राख्दा जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले आन्तरिक रूपमा ३०÷३० सिटभन्दा बढीमा दाबी राख्ने योजना बनाएका छन् । तर, दाबीअनुसार सिट पाउने अवस्था नभएकाले माओवादी केन्द्रले ४०, जसपाले २३, नेकपा एसले २० सिट पाउने अवस्था छ ।

त्यस्तै, सत्ता गठबन्धनमा रहेको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले पाँच सिट माग गर्न थालेको छ । तर, उसले बढीमा प्रत्यक्षतर्फ दुई सिट पाउनसक्ने सम्भावना छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्