Logo

वृद्धभत्ता लिने उमेर पुगेका नेताहरुलाई चुनावमा सकस



काठमाडौं, २१ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता लिने उमेर ७० बाट घटाएर ६८ पुर्याएको छ । लगत्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरे । उनको पनि वृद्धभत्ता लिने उमेर पुगेको सन्देश प्रवाह भयो । भट्टराई मात्र नभई प्रमुख दलका कतिपय प्रभावशाली नेताहरु पनि वृद्धभत्ता लिने उमेरको भएको विषय उठ्यो ।

देशमा पूर्वप्रधानमन्त्रीमध्ये प्रचण्डबाहेक सबै नेताहरु वृद्धभत्ता लिने उमेर पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा ८० को नजिक पुगेका छन् । केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल ७० कटेका छन् । बाबुराम भट्टराई ७० को नजिक छन् ।

लोसपा नेता महन्थ ठाकुर ८० कटेका छन् । जसपा नेता उपेन्द्र यादव ६० कटेका छन् ।

काँग्रेसका प्रभावशाली नेताहरुमध्ये अधिकांश ७० कटेका र पुग्न लागेका छन् । रामचन्द्र पौडेल, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला ७० कटेका छन् । प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. सशांक कोइराला, सुजाता कोइराला ७० को नजिक पुगेका छन् ।
एमाले नेताहरु इश्वर पोखरेल, डा. भीम रावल पनि ७० को नजिक छन् ।

माओवादी नेताहरु कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल जस्ता हस्ती नेताहरु ६० कटेका छन् ।

वृद्धभत्ता लिने उमेर पुगेका नेताहरुलाई चुनावमा चुनौती देखिने संकेतहरु देखिएका छन् । विशेषगरी वृद्ध नेताहरुलाई हराउने अभियान एकाथरीले चलाइरहेका छन् । यस्तो अभियानमा बौद्धिक समुदाय, युवा, स्वतन्त्र समूहहरु देखिएका छन् । यसकारण पनि पाका नेताहरुलाई चुनावमा सकस देखिन सक्छ ।



प्रतिक्रिया दिनुहोस्