Logo

काँग्रेसलाई आधा बाँकीलाई आधा गरी गठबन्धनमा सिट बाँडफाँटको सम्भावना



काठमाडौं, २१ साउन । सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति बनिसकेको छ । चुनाव घोषणा नहुँदै उक्त सहमति बनेको हो । चुनाव घोषणापछि ५ मंसिरमा दलहरुले सिट बाँडफाँटका लागि कार्यदल नै भदौभित्र सिट बाँडफाँटको टुंगो लगाउने गरी कार्यदललाई जिम्मेवारी दिइएको छ । कार्यदल गठन भएलगत्तै काँग्रेसभित्र कम्तिमा सय सिटको दाबी हुन थालेको छ । काँग्रेस पूर्वमहामन्त्री डा. सशांक कोइरालाले गठबन्धनमा तालमेलका लागि काँग्रेसले एक सय सिट पाउनुपर्ने जिकिर गरेका छन् ।

काँग्रेसले सय सिट दाबी गरेर कम्तिमा आधा आफ्नो भागमा पार्न खोजेको चर्चा पनि छ । बाँकी आधा गठबन्धनका अन्य दलहरुलाई दिने गरी चुनावी रणनीति काँग्रेसको हुनसक्ने विश्लेषण भइरहेको छ । त्यसो हो भने १६५ सिटमा काँग्रेसले ८३ देखि ८५ सिट पाउन सक्छ ।

बाँकी आधा सिट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बाँडफाँट गर्नुपर्ने अवस्था आउने देखिदैछ । तर, जसपा गठबन्धनमा टिक्ने या नटिक्नेमा आशंका छ । त्यसो भएमा लोसपाले सत्ता गठबन्धनमा प्रवेश पाउन सक्छ ।

काँग्रेसले २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट जितेको थियो । जुन उसले समानुपातिकतर्फ जितेको ४० सिटको तुलनामा झण्डै आधा हो ।
माओवादी केन्द्रले कम्तिमा ५० सिट दाबी गरेको छ । उसले २०७४ को चुनावमा ३६ सिट प्रत्यक्षतर्फ जितेको थियो । ५० सिट दाबी गर्नु भनेको अघिल्लो चुनावमा जितेको भन्दा १४ मात्र बढी हो ।

सोमनाथ पाण्डेसहितलाई गणना गर्ने हो भने नेकपा एसबाट प्रत्यक्ष निर्वाचित १३ सांसद छन् । उसले कम्तिमा २५ सिट दाबी गर्न सक्छ । १५ सिट पाउने सम्भावना बलियो छ ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले १० सिट प्रत्यक्ष जितेको थियो । यसअघि ११ सांसद प्रत्यक्षतर्फ जितेका उपेन्द्र नेतृत्वको दल जसपामा थिए । बाबुराम र महेन्द्र राय यादवले जसपा छाडेपछि ९ प्रत्यक्षतर्फ निर्वाचित सांसद बाँकी छन् । यसकारण जसपाले अधिकतम १५ सिट पाउन सक्छ ।

राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल मात्र प्रत्यक्ष निर्वाचित सांसद छिन् । जनमोर्चाले ३ सिट दाबी गर्ने सम्भावना छ ।

दलहरुको दाबी र बाँडफाँटको सहमतिमा काँग्रेसले ८३ देखि ९०, माओवादीले ४० देखि ४५, नेकपा एसले १५ देखि २०, जसपाले १० देखि १५, राजमोले २ देखि ३ सिटमा कुरा मिल्ने सम्भावना देखिएको छ ।

प्रदेश सभातर्फ ३३० सिटमा पनि प्रतिशतका आधारमा प्रतिनिधि सभाकै शैलीमा तालमेल गहुने सम्भावना बलियो छ ।

चुनावी तालमेलसँगै गठबन्धनका दलहरुबीच आलोपालो प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतका महत्वपूर्ण पदको बाँडफाँडमा पनि अहिले देखि नै सहमति बनाएर जाने तयारीहरु भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्