Logo

रामपुर क्याम्पस प्रमुखको नियुक्ति खारेजीको माग गर्दै नेविसंघको रिले अनसन सुरु



काठमाडौं, २१ साउन । नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस इकाईले अस्थायी क्याम्पस प्रमुख मिलन सुवेदीको नियुक्तिको बिरोधमा चौथो चरणको आन्दोलन सुरु गरेको छ । इकाईले अस्थायी क्याम्पस प्रमुख सुवेदीको नियुक्तिको बिरोधमा शुक्रबारदेखि रिले अनसन सुरु गरेको हो ।

नेविसंघले रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य, अनुभवी र सिनियर प्राध्यापकको नियुक्ति गर्नु पर्नेमा जुनियर र आफुखुशी नियुक्त गरेको भन्दै विरोध गर्दै आएको छ ।

यसअघि प्रथम चरणमा नेबिसंघले गत साउन ११ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि र पशु विज्ञान अध्ययन संस्थानमा भएका ४ वटै क्याम्पसलाई सिनियर,अनुभवी र सक्षम प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्ति गर्न ध्यानाकर्षण गराएको थियो ।

त्यसैगरी, दोस्रो चरणमा नेबिसंघले गत साउन १६ गते क्याम्पस प्रमुखहरुको नियुक्ति खारेज गर्न ४८ घण्टे ‘अल्टिमेटम’ दिँदै मंगलबार रामपुर क्याम्पस खैरहनी र कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो ।

यसैगरी, तेस्रो चरणमा दोस्रो चरणको पनि माग पुरा नभएपछि २४ घण्टे अल्टिमेटम दिदै पठनपाठन ठप्प पार्दै तालाबन्दी र कालोपट्टी बाधेर बिरोध प्रदर्शन गरेको थियो।
चौथो चरणमा तेस्रो चरणको माग पुरा नभए पछि गत साउन २० गतेदेखि रिले अनसन सुरु गरेको नेविसंघ रामपुर क्याम्पस इकाई समिति सचिव आशिष देबकोटाले जानकारी दिए । देवकोटाले अझै पनि सम्बन्धित निकायले आफुहरुको माग सम्बोधन नगरे भोलिका दिनमा झन शसक्त रुपमा अगाडि बढ्ने चेतावनी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्