Logo

थाकेका छैनन् घण्टाघरका सुई



काठमाडौं, साउन २२ । सवा सय वर्षदेखि समयको जानकारी दिँदै आएको रानीपोखरीको घण्टाघरका घडीका सुई अझै थाकेका छैनन् तर घडीका संरक्षणकर्ताले अब तिनलाई विश्राम दिने योजना बुन्दै छन्।

त्रि–चन्द्र क्याम्पसको सबैभन्दा पुरानो भवनको पुनर्निर्माण र सँगै जोडिएको घण्टाघरको जीर्णोद्धार हुने भएको छ। परिसरभित्र रहेकाले घण्टाघरको जिम्मेवारी त्रि–चन्द्र क्याम्पसले नै वहन गर्दै आएको छ।

त्रि–चन्द्र क्याम्पसका प्रमुख प्रा डा सुनील अधिकारीले भने, “घडी अझै थाकेको छैन तर दम दिएर साध्यै नचल्ने भयो। अब अटोमेटिक घडी जडान गर्नुपर्छ। अहिलेको घडीलाई क्याम्पसभित्र सङ्ग्रहालय बनाएर राख्नेछौँ।”

घण्टाघरका घडी र त्यसका उपकरणको तौल करिब दुई हजार केजी छ। घडीसँग जोडिएका २५ वटा यन्त्र छन्। नौवटा घण्टा छन्। घडीमात्र करिब दुई सय केजीको छ।

२०३९ सालताका घण्टाघरमा आगजनी भएपछि लामो समयसम्म घडी चल्न सकेन। २०४१ सालमा भारतबाट मर्मतकर्ता झिकाएर घडीलाई चालु बनाइयो। घडीले पुनः काम गर्न छोड्यो। २०४४ सालमा सार्क सम्मेलनका बखत पुनः बन्यो ।

घडीलाई हरेक साता दुई पटक दम दिनुपर्छ। करिब आधा घण्टा दम दिनुपर्ने हुन्छ। दम दिएर निकै गह्रौँ तौल माथि उठाउनुपर्ने हुँदा दम दिने व्यक्ति पसिनाले निथ्रुक्कै हुन्छन्। क्याम्पसका चार जना चौकीदारले आलोपालो दम दिँदै आएका छन्।

दम दिएबापत चार जनालाई मासिक एकरएक हजार रुपैयाँ भत्ता छ। घण्टाघरभित्र उक्लिएर तीनवटा दम दिनुपर्ने हुन्छ। एउटा दमले घडी चल्छ, दोस्रो दमले हरेक १५ मिनेटमा घण्टी हान्छ र तेस्रो दमले हरेक घण्टामा अर्को घण्टी हान्छ।

राणाकालमा समय जनाउ दिन दिनको १२ बजे तोप पड्काउने चलन थियो र सैनिकले घण्टाघरले हानेको घण्टीका आधारमा तोप पड्काउने गरेका थिए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्