Logo

उपेन्द्र यादवले गठबन्धनमा चुकुल लगाउन सक्दैनन्ः महिन्द्र राय यादव



काठमाडौं, २२ साउन । नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आफ्नो पार्टी सत्ता गठबन्धनमै रहने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “वर्तमान सत्ता गठबन्धन निर्माणमा हाम्रो पनि योगदान छ । हामीलाई यही गठबन्धनले स्पेस दिनुपर्छ । वाम-प्रजातान्त्रिक गठबन्धनमा सबै अटाउने ठाउँ छ । यो गठबन्धनमा नेपाल समाजवादी पार्टी, लोसपा सबै अटाउन सक्छन् ।”
उपेन्द्र यादवले नमानेको खण्डमा तपाईंहरु कसरी सत्ता गठबन्धनमा बस्न सक्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा यादवले थपे, “यो उपेन्द्रजीको निजी गठबन्धन हो र ? उपेन्द्रजीले कसरी चुकुल लगाउन पाउँछन् ? उनको चाहनाले मात्र केही हुनेवाला छैन । गठबन्धन कसैका लागि आवश्यक होला, नहोला, तर मुलुकको आवश्यकता हो ।” गठबन्धनमा कुरा नमिलेर एमालेतिर लाग्नुपर्ने स्थिति नआउने पनि उनको जिकिर छ ।
उपेन्द्र यादवको स्वेच्छाचारिता र एकलौटी शैलीका कारण नयाँ पार्टी बनाउनु परेको पनि यादवले औंल्याए । उनले भने, “सबै नेता कार्यकर्तालाई थाहा छ, जनता समाजवादी पार्टीलाई हामीले वैकल्पिक राजनीतिक शक्ति बनाउन खोजेका थियौं । हिमाल, पहाड र तराईको प्रतिनिधित्व भएको पार्टी बनाउन खोजेका थियौं । तर उपेन्द्रजीको स्वेच्छाचारिता र एकलौटी शैलीका कारण महन्थ ठाकुरजीले छाडेर जानुभयो । हामीले उपेन्द्रजीको स्वेच्छाचारिता नियन्त्रण गर्न खोजे पनि सकेनौं । पार्टीभित्र उपेन्द्रजीबाहेक कसैले बोल्न नपाउने अवस्था आयो ।”
उपेन्द्र यादवले मधेसलाई भ्रमको अन्धकारमा राखेको आरोप पनि उनले लगाए । यादवले थपे, “प्रदेशको मन्त्री रामनरेश यादवलाई कुन कानुनले हटाइयो ? यत्रो आरोप लाग्दा पनि मधेस प्रदेशका मुख्यमन्त्रीलाई किन राजीनामा गराउँदैनन् ? आफ्नै पार्टीमा विभेद गर्ने ? मधेसलाई यसरी सधैंभरि अन्धकारमा राख्न सकिँदैन । भ्रमपूर्ण राजनीति अब चल्दैन ।”



प्रतिक्रिया दिनुहोस्