Logo

एमालेले चोलेन्द्रलाई चोख्याउन सक्दैनः वरिष्ठ अधिवक्ता



काठमाडौं, २२ साउन । वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नेकपा एमालेले बचाउन नसक्ने दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता प्रधानले भने, “नेपाल बार एसोसिएसनले १०९ दिनसम्म आन्दोलन गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग लगाएको हो । महाभियोगका लागि पर्याप्त आधार छ । यसमा नेकपा एमालेले साथ दिने नदिने प्रश्न नै होइन । एमालेले भ्रष्टाचारीलाई चोख्याउँछौं र प्रधानन्यायाधीश निर्दोष छन् भनेको छैन । भ्रष्टाचार र अनियमितता भनेको पार्टी विशेषको होइन, राष्ट्रको विषय हो ।”
निर्वाचनको मिति घोषणा भइसकेपछि महाभियोगबारे छलफल गर्नु नाटक नभएको पनि उनको जिकिर छ । वरिष्ठ अधिवक्ता प्रधानले भने, “चुनावको मिति घोषणा भए पनि संसद रहुन्जेल छलफल हुन सक्छ । पास वा फेल गर्न सक्छ । राज्यको न्याय सम्पादन गर्छु भनेर सपथ खाएको व्यक्तिले कसुर गर्छ, पदको मर्यादा उल्लंघन गर्छ भने उसलाई कसैले चोख्याउँछ भन्ने मलाई लाग्दैन । भ्रष्टाचार राजनीतिकभन्दा पनि राष्ट्रविरोधी काम हो ।”



प्रतिक्रिया दिनुहोस्