Logo

“रामकुमारी झाँक्रीजी चुनाव उठेर हार्नुभयो भने गठबन्धनलाई घाटा हुन्छ”



काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेशका योजना आयोगका सदस्य डा. दामोदर भुसालले पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई गुल्मी क्षेत्र नं २ को उम्मेदवार बनाउन नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भुसालले भने, “राष्ट्रिय पार्टीको सचिव र मन्त्री भइसकेकाले गुल्मी क्षेत्र नं २ मा रामकुमारी झाँक्रीको दाबी स्वभाविक छ । रामकुमारीजीलाई ल्याउनै हुन्न भन्ने पनि होइन । तर उहाँको विकल्प नभएको पनि होइन । हामी रामकुमारीजीलाई चुनाव हराउन चाहँदैनौं । गठबन्धनले उम्मेदवार उठाउँदैमा जित्छ र ? एकीकृत समाजवादी पार्टीको एक हजार मतमा २५, ३० हजार मत कसरी ट्रान्सफर हुन्छ ? उहाँको पार्टीको नाता गाउँगाउँमा गाँसिएको छैन । उहाँ आएर यहाँ हार्नुभयो भने गठबन्धनलाई घाटा भयो नि त ।”
नेतृत्व पंक्तिले झाँक्रीलाई ल्याउँदा गठबन्धनले जित्छ कि जित्दैन भन्ने विचारणीय भएको पनि उनले बताए । डा. भुसालले भने, “म गठबन्धनको विरोधी होइन । तर जसले जित्छ, उसलाई मैदानमा लैजानु उचित हो । गठबन्धनले जित्ने उम्मेदवार नै उठाउनुपर्छ । म लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा छु । क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य भएँ । गाउँगाउँ, टोल बस्ती, नागरिकको सुखदुःखमा पुग्ने हिसाबले मेरो उम्मेदवारी प्रभावकारी हुन्छ ।” झाँक्रीलाई समानुपातिक पद्धतिबाट संसदमा लैजान सकिने पनि उनले औंल्याए ।
साथै उनले शेरबहादुर देउवाको नेतृत्वको सरकारले संविधानको रक्षा, स्थानीय तहको निर्वाचन, अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार गरेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्