Logo

क्युबाको तेल डिपोमा चट्याङ लागेर १ जनाको मृत्यु, १७ अग्नि नियन्त्रक बेपत्ता



एजेन्सी, २२ साउन । क्युबाको हवानाबाट १०० किलोमिटर टाढा रहेको मातान्जास शहरमा रहेको एउटा तेल भण्डारमा शनिबार आगलागी भएको छ । सो क्रममा डिपोमा रहेका १२० भन्दा बढी घाइते भएका छन् ।

घटनास्थलबाट एक जनाको शव फेला परेको अधिकारीहरुले बताएका छन् । त्यहाँ १७ फायर फाइटरहरू हराइरहेको रिपोर्ट आएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ। चट्याङ परेपछि ४ वटा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।

पेट्रोल ट्याङ्कीमा चट्याङ परेर आगलागि भएको हो । खराब मौसम र तेज हावाका कारण आगो पछि अन्य ट्याङ्कीमा फैलिएको थियो । दुर्घटनाको खबर पाएलगत्तै प्रहरी र दमकलको टोली खटिएको थियो । पहिलो पटक आगो लागेको ट्याङ्कीमा २६ हजार घनमिटर कच्चा तेल थियो भने दोस्रो ट्यांकीमा ५६ हजार घन मीटर ईन्धन थियो।

दुर्घटनामा परी घाइते भएका १२० भन्दा बढी व्यक्तिमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको अधिकारीले बताए । अधिकारीका अनुसार आगलागी यति भयावह बनेको थियो कि आसपासका क्षेत्रबाट करिब १९०० मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

इन्धन संकटबाट गुज्रिरहेको क्युवाली सरकारले आगो नियन्त्रणका लागि सहयोगी राष्ट्रहरूसँग सहयोग मागेको छ । मेक्सिको र भेनेजुएलाले आफ्ना धेरै फायर टोलीहरू पठाए, र अमेरिकाले पनि प्राविधिक सल्लाह दिएका छन् । क्युबा दैनिक ब्ल्याकआउट र इन्धनको अभावसँग लडिरहेको छ।



प्रतिक्रिया दिनुहोस्